हेटौंडा – साफ वुमन्स च्याम्पियनसिपको उपाधिका लागि आयोजक नेपाल र बङ्गलादेश भिड्ने भएका छन् । दशरथ रंगाशालामा बुधबार नेपालले बंगलादेशसँग फाइनल खेल खेल्नेछ ।
आइतबार भएको खेलमा भारतलाई पेनाल्टी शुटआउटमा नेपालले भारतलाई २ गोलको अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । पेनाल्टी शुटआउटमा नेपालले चार गोल गर्दा भारतले दुई गोल मात्र फर्काएको हो । निर्धारित समयमा दुवै टोलीले एक–एक गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुवै टोलीले पहिलो हाफमा गोलरहित बराबरी खेलेका थिए । निर्धारित ४५ मिनेट तथा अतिरिक्त तीन मिनेटको समयमा पनि नेपाल र भारतले गोल गर्न सकेनन् । पहिलो हाफमा भारतले नेपालमाथि दबाब बनाइराख्दा नेपाल गोल गर्नबाट चुक्यो । नेपाल र भारत दुवैले केही उत्कृष्ट अवसर प्राप्त गरेपनि गोल गर्न भने सकेनन् ।
खेलको ५१औँ मिनेटमा दोहोरो पहेँलो कार्ड पाएपछि नेपालकी रेखा पौडेलले रातो कार्ड पाएपछि मैदान छोड्नु परेको छ । रेखाले रातो कार्ड पाएपछि नेपाली दर्शकहरुले केहीबेर नाराबाजी गरेका थिए । मैदानमा दर्शकले बोतल फाल्दा खेल झन्डै १३ मिनेट रोकियो ।
दोस्रो हाफमा भारतकी सङ्गीता बास्फोरले उत्कृष्ट गोल गर्दै अग्रता लिइन् । भारतले गोलको खुसी मनाइरहेको अवस्थामा नेपालले लगत्तै गोल गरेको थियो । तर रेफ्रीले उक्त गोललाई मान्यता दिएनन् । तनावका कारण झन्डै १ घण्टा खेल रोकियो ।
खेल पुनः सुरु भए लगत्तै नेपालकी सावित्रा भण्डारी ‘साम्बा’ले गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा पुर्याइन् । त्यसपछि गोल हुन नसक्दा खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा नेपालले चार तथा भारतले दुईवटा मात्र गोल गर्न सक्यो ।
उता पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ७–१ ले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । बंगलादेशको जितमा तोहुरा खातुनले ह्याट्रिक पूरा गरिन् । सविना खातुनले २ तथा ऋतु पोर्ना चक्मा र शिउली अजिमले १-१ गोल गरेका थिए ।