काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा चिरप्रतिद्वन्द्वी ब्राजिल रअर्जेन्टिनाबीचको खेलमा समर्थकहरूबीच कुटाकुट भएको छ ।
रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा खेल सुरू हुनअघि दुई देशका समर्थकहरूबीच कुटाकुट भएकोे हो । कुटाहुट हुँदा खेल आधा घन्टा अवरूद्ध भएको थियो ।
बिहान सवा ६ बजे खेल सुरू हुनुभन्दा केही बेरअगाडि दुई देशका समर्थक समूहबीच हानाहान भएपछि माराकाना रंगशाला केहीबेर तनावग्रस्त बनेको थियो । दुबै टोली मैदानमा उत्रिएर राष्ट्रिय गान सकिएलगत्तै फ्यानहरूबीच कुटाकुट भएको थियो।
दुई देशका समर्थकहरू कुटाकुट गर्दा केही व्यक्तिहरू घाइते समेत भएका छन्। स्थितिलाई नियन्त्रणमा लिन हम्मेहम्मे परेपछि त्यहाँ खटिएका सुरक्षाकर्मीले लाठी चार्ज गरेका थिए।
समर्थकहरूबीच झगडा हुँदा फुटबल हेर्न आएकाहरू आतंकित बनेका थिए। माहोल शान्त नबनेपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी आफ्ना खेलाडीसहित मैदानबाट बाहिरिएर ड्रेसिङ रूममा गएका थिए।
सुरक्षाकर्मीले लाठी चार्ज गरेर स्थितिलाई नियन्त्रणमा लिएपछि निर्धारित समयभन्दा आधा घन्टा ढिला गरि खेल सुरू भएको थियो।
ब्राजिलमाथि अर्जेन्टिनाको जित
उक्त खेलमा ब्राजिलमाथि अर्जेन्टिनाले जित हात पारेको छ। चिरप्रतिद्वन्द्वी ब्राजिललाई उसैको मैदानमा अर्जेन्टिनाले १–० गोलको जित निकालेको हो।
दोस्रो हाफमा अर्जेन्टिनाले अग्रता लिँदा घरेलु समर्थक स्तब्ध बने। ६३ मिनेटमा निकोलास ओटामेन्डीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए। उनले सेल्सोको पासमा गोल गरेका थिए।
खेलको ८१ मिनेटमा ब्राजिल १० खेलाडीमा सीमित बन्यो। ब्राजिलका जोइलिन्टनलाई रेफ्रीले सिधा रातो कार्ड दिएर मैदान बाहिर पठाएका थिए। अर्जेन्टिनाका डि पललाई हातले धकेलेपछि उनलाई रातो कार्ड दिइएको थियो।
विश्वकप छनोटमा अर्जेन्टिना ५ खेलबाट १२ अंक जोड्दै शीर्ष स्थानमा छ भने ब्राजिल ७ अंक जोडेर पाँचौ स्थानमा छ। दोस्रो स्थानको उरुग्वेको १३ अंक छ।