हेटौंडा –स्थानीय निकायमा जनप्रतिनिधि छनोटको लागि सरकारले आउँदो बैशाख ३० गते स्थानीय चुनावको मिति तय गरेको छ । स्थानीय तहको चुनावको मिति घोषणा गरेसँगै राजनीतिक दलहरुले देशभर चुनाव केन्द्रित गतिविधि बढाएका छन् । त्यस्तै मकवानपुरमा पनि चुनाव केन्द्रित गतिविधिले तिब्रता पाएको छ ।
एक उपमहानगर, एक नगर र ८ गाउँपालिका सहित जिल्लामा १० वटा स्थानीय तहहरु छन् । स्थानीय तहको विभिन्न पदमा राजनीतिक दलका नेताहरुले उम्मेदवारीको लागि आकाँक्षा देखाउनका साथै पार्टीभित्र टिकटको लागि वार्ता र सम्बाद गरिरहेका छन् ।
नजिकिंदो चुनाव र राजनीतिक दलको बढ्दो चुनाबी गतिविधिलाई देखेर चोक, चौतारा, चियापसलमा कुन पार्टीले क–कसलाई टिकट दिन्छ ? भन्ने कार्यकर्तादेखि सर्वसाधारणसम्ममा चर्चा सुरु हुन थालेको छ । साथै राजनीतिकका शुभेच्छुक तथा सर्वसाधारणले हारजीतको विश्लेषण गरेको पाइन्छ ।
सोही विषयमा प्रहरखबर डटकमले पुर्वि बागमती गाउँपालिकाको भाबी अध्यक्षमा चर्चामा आएका नाम, अध्यक्षको उम्मेद्वार हुन सक्ने सम्भावना र राजनीतिक पार्टीका अवस्थाबारे चर्चा गरेका छौँ ।
कांग्रेसमा ६ जनाको चर्चा
निर्वाचन मिति नजिकिएसँगै बागमती गाउँपालिकाको नेतृत्व गर्न कांग्रेसबाट ६ जना आकांक्षीको नाम चर्चामा छ । यसअघि पराजित भएका तोकबहादुर ठाढामगर, कांग्रेस बागमती गाउँपालिका सभापति फडिन्द्रकुमार तिमल्सिना, प्रदेश सदस्य भक्तबहादुर राई, क्षेत्रीय सचिव शंकरकुमार पराजुली, पुर्वक्षेत्रीय सभापति दिल्लीप्रसाद घोरसैनी र निवर्तमान जिल्ला सदस्य शेरबहादुर लामाको नाम चर्चामा छ । उनीहरुले आफु आकांक्षी भएको नबताए पनि टिकटको लागि आफुनिकट नेतासँग लविङ गरिरहेका छन् ।
माओवादीमा सर्केशकै चर्चा
माओवादी केन्द्रबाट भने गाउँपालिका अध्यक्ष सर्केश घलान नै दोहोरिने चर्चा बढी छ । उनी निकट कार्याकर्ताका अनुसार माओवादी केन्द्र मकवानपुरको अध्यक्ष समेत रहेका घलान पुनःअध्यक्ष पदको उम्मेद्वार निश्चित भएको बुझिएको छ । माओवादीका अन्य केही नेताहरूको नाम पनि चर्चामा भएपनि उनीहरू खुल्न भने चाहेका छैनन् ।
एमालेमा तिमल्सिनाको सम्भावना
त्यस्तै नेकपा एमालेबाट गाउँपालिकाको अध्यक्षमा चार जनाको नाम चर्चामा रहेको छ । यसअघिका अध्यक्षका उम्मेद्वार राजकुमार तिमल्सिना, जिल्ला सदस्य खेम जर्गामगर, सदस्य नरबहादुर घलान र पुर्वजिल्ला सदस्य उत्तम् पौडेलको नाम चर्चामा रहेको छ । यिमध्ये यसअघिका उम्मेद्वार तिमल्सिनाको सम्भावना बलियो रहेको बुझिएको छ । तर, उनी चारै जना आफु निकट नेतासँग टिकटको लागि लबिङमा रहेका छन् ।
राप्रपामा पुरानै उम्मेद्वारको सम्भावना बढी
राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुर संस्थापन पक्षबाटै स्थानीय चुनावी मैदानमा उत्रने भएपछि यसअघिका उम्मेद्वार दिलबहादुर बलकै सम्भावना बलियो देखिएको छ । उनीसँगै राप्रपाका क्षेत्रीय उपाध्यक्ष शेरबहादुर थोकर र गाउँ कमिटी उपाध्यक्ष तथा अघिका वडाअध्यक्षका उम्मेद्वार शरण कार्की श्रेष्ठको नाम पनि चर्चामै छ । तर, प्राप्त जानकारी अनुसार दिलबहादुरकै सम्भावना बलियो रहेको बुझिएको छ ।
आगामी चुनावको आउँनको लागि झण्डै दुई महिनाको अवधि बाँकी छ । अध्यक्ष एक पद, चार वटा राजतीनिक दल, आकांक्षी उम्मेद्वारको नाम चर्चा धेरै । कुन पार्टीबाट कसले टिकट पाउँछन् ? त्यो भने हेर्न बाँकी छ ।
विं.सं. २०७४ को स्थानीय चुनावमा बागमती गाउँपालिकामा नेकपा माओवादी केन्द्र बलियो देखिएको थियो । माओवादी केन्द्रले अध्यक्षसहित ४ वटा वडामा बाजी मार्दा एमालेले उपाध्यक्ष सहित दुई वटा वडा र नेपाली कांग्रेसले तीन वटा वडामा जितेको थियो । राष्ट्रिय प्रजातान्त्रिक पार्टीसहित अन्य पार्टीले कुनै स्थानमा विजय हासिल गर्न सकेका थिएनन् ।
अध्यक्षमा माओवादी र उपाध्यक्षमा एमाले
माओवादीका उम्मेद्वार सर्केश घलानले गाउँपालिका अध्यक्ष चुनावमा ३ हजार २२१ मत प्राप्त गरी विजयी भएका थिए । उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका राजकुमार तिमल्सिनालाई १ सय ३५ मतको झिनो अन्तरले हराएका थिए । उनले ३ हजार ८६ मत प्राप्त गरेका थिए ।
अध्यक्षका उम्मेद्वार नेपाली कांग्रेसका चोकबहादुर ठाडा मगर, राप्रपाका दिलबहादुर बल र मेधेसी जनअधिकार फोरम (लोकत्रान्तिक)का खड्कबहादुर रानामगरले क्रमशः ३ हजार ३७, १ हजार ३४२ र १३ मत पाएका थिए । स्वतन्त्र उम्मेद्वार मानबहादुर पाटामगर, सुर्दशन प्रसाद घिमिरे र नयाँबहादुर थोकरले एक मत पनि पाएका थिएनन् ।
माओवादी केन्द्रको गढ मानिने बागमती गाउँपालिकामा अध्यक्षमा पराजीत भएपनि एमालेले उपाध्यक्षमा जित्दै बलियो उपस्थिति जनायो । उपाध्यक्ष एमालेकी धनमाया स्याङ्तानले ३ हजार १४४ मत प्राप्त गरी विजयी भएकी थिइन् । उनले माओवादी केन्द्रकी बच्चु गोले (खड्का) लाई ४ मतले पराजित गर्दै विजयी भएकी थिइन । उनले ३ हजार १४० मत प्राप्त गरेकी थिइन् । कांग्रेसकी सुमित्रा राई र राप्रपाकी उमाकुमारी मोक्तानले क्रमशः ३ हजार २० र १ हजार ३५१ मत ल्याएका थिए ।
माओवादी चार, कांग्रेस तीन र एमाले दुई
बामकार्यकताको गढ मानिने बामगती गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा माओवादी र एमालेले कब्जा जमाउँदा कांग्रेस वडामै सीमित रह्यो । गाउँपालिकाको ९ वडामध्ये माओवादी केन्द्रले वडा नं.३, ४, ५ र ६ मा र एमाले ८ र ९ मा बाजी मार्दा कांग्रेसले १,२ र ७ मा जित्दै चुनौती प्रस्तुत गर्यो । तर, राप्रपाले कुनै वडामा जीत निकाल्न सकेन ।
वडा नं.१ मा कांग्रेसका ठेकेन्द्र वाइबा ३३६ मत सहित विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्दी माओवादीका यहुन्ना राईले ३३२ मत पाएका थिए । एमालेका भीमकुमार राई र राप्रपाका संजय राईले क्रमशः २१४ र १८१ मत प्राप्त गरेका थिए ।
वडा नं. २ मा कांग्रेसकै जगतबहादुर लामा ६०५ मत प्राप्त गरी विजयी भएका थिए । उनका निकटतम् प्रतिद्वन्दी माओवादीका जनकबहादुर पहरी ४२५ मत प्राप्त गर्दा एमालेका हर्कबहादुर गोले र राप्रपाका शरणकाजी श्रेष्ठले क्रमशः ३९० र २०७ मत ल्याएका थिए ।
वडा नंं.३ मा माओवादीका बालबहादुर पाख्रीन ३१४ मत सहित निर्वाचित हुँदा एमालेका बाबुलाल गोलले २५७, कांग्रेसका सुनजित भोम्जनले १३५ र राप्रका लिलाबहादुर वाइवाले ४७ मत पाएका थिए ।
त्यस्तै वडा नं.४, ५ र ६ मा माओवादी केन्द्रकै उम्मेद्वारले बाजी मारेको थियो । वडा नं. ४ मा रहरसिं थिङले ४७७, एमालेका टेकबहादुर पाख्रिनले २३४, कांग्रेसका इन्द्रबहादुर थिङले १२० र राप्रपाका सीताराम माझीले ८१ मत पाएका थिए । वडा नं.५ मा बुद्धिमान माझीले ३५३, एमाले डेनडीजङ लामाले ३४०, कांग्रेसका तिलकबहादुर माझीले २०८ र राप्रपाका पंचवीर रुम्बाले ६८ मत ल्याएका थिए । वडा नं.६ मा ध्रुब थापामगरले ४४५, एमालेका धनबहादुर लामाले ३९२, कांग्रेसका कुवेरसिं थोकरले ३४७ र राप्रपाका लक्ष्मणबहादुर लामिछाने मगरले २६७ मत प्राप्त गरेका थिए ।
वडा नं.७ मा नेपाली कांग्रेसका डिल्लीप्रसाद घोरासाइनीले ४५४ मत प्राप्त गर्दै विजयी हुँदा एमालेका ललितबहादुर राई ५ मतको झिनो अन्तरले पराजित भए । राईले ४४९ मत ल्याएका थिए । राप्रपाका जीतबहादुर भोलनले १७४ र माओवादीका औतारसिं भ्लोनले ९१ मात प्राप्त गरेका थिए ।
अधिकांश वडामा दोस्रो र केही वडामा झिनो मतले पराजित भएको एमालेका उम्मेद्वारले वडा नं. ८ र ९ मा नेतृत्व पाए । वडा नं.८ मा धनबहादुर योन्जनले ३६३, माओवादीका इन्द्रमणी तिमल्सिनाले ३३८, कांग्रेसका चतुरमान नेघीले २८९ र राप्रपाका शेरबहादुर थोकरले २८२ मत पाएका थिए । वडा नं.९ मा मदनकुमार स्याङ्तानले ५६९, कांग्रेसका खड्कबहादुर रानामगरले ४४६, माओवादी ३८१ र राप्रपाका पुर्णसिं पाख्रिन तामाङले ८२ मत प्राप्त गरेका थिए ।
विं.सं.२०६८ को जनगणना अनुसार ३० हजार ५८७ जनसंख्या रहेको बागमती गाउँपालिकामा १५ हजार ७६१ मतदाता रहेको थियो । बितेको स्थानीय तहको चुनावमा ११ हजार ४९१ (७२.९१ प्रतिशत) मत खसेको थियो ।
बागमती गाउँपालिकामा गत स्थानीय तहको चुनावी मत परिणामलाई आधार मान्ने हो भने अध्यक्षमा विजयी भएका माओवादी, दोस्रो एमाले र तेस्रो कांग्रेसबीचको मतान्तर धेरै छैन । उपाध्यक्षमा पनि तीनै पार्टीका उम्मेद्वारबीच धेरै मतको फरक छैन । अध्यक्षमा माओवादीसँग एमालेको १३५ र कांग्रेसको १८५ को मात्रै अन्तर छ । त्यस्तै उपाध्यक्षमा एमालेसंग माओवादीको चार र कांग्रेसको ११४ मतको अन्तर छ ।
त्यस्तै वडा नं. १ र ७ मा १० भन्दा कम, वडा नं.८ र ५ मा ३० भन्दा कमको मतान्तर छ । वडा नं. ३ र ६ मा ६० भन्दा कम मतान्तर रहेको छ भने वडा नं.९,२ र ४ मा सय भन्दा बढी मतान्तर रहेको छ । यि तीन पार्टीका उम्मेद्वारबीच आगामी स्थानीय तहको चुनावमा कडा प्रतिस्पर्धा हुने देखिन्छ ।
गाउँपालिकाको अध्यक्ष सहित चार वडामा जीत निकालेर हौसिएको माओवादीलाई आगामी चुनावमा पछार्न जीतको प्यासी बनेर बसिरहेको एमाले र कांग्रेस आआफ्नै स्थानबाट तयारी गरिहेका छन् । एमालेको पराजित भएको वडामध्ये ५ वटा वडामा निकटतम् प्रतिद्वन्दीको रुपमा रहदाँ माओवादी तीन र कांग्रेस एकमा मात्रै रहेको छ ।
थपिएका मतदाताको मत निर्णायक
बागमती गाउँपालिकामा पछि थपिएका मतदाताको मत निर्णायक हुने देखिन्छ । विजयी अध्यक्षका उम्मेद्वारले पाएको मत भन्दा बढी मतदाताको संख्या थपिएको छ । निर्वाचन कार्यालय मकवानपुरले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गाउँपालिकामा पछिल्लो पाँच बर्षको अवधिमा ४ हजार ३२९ मतदाता थप भएको छ । बढेको मतदातामा अधिकांश युवा पुस्ता छन् भने केही छुटपुट छन् । उनीहरुलाई प्रभावमा पार्ने राजनीतिक पार्टी तथा उम्मेद्वारले प्रभाव पार्न सके चुनावी परिणाम आफ्नो पक्षमा ल्याउन सकिने देखिन्छ । विं.सं.२०७८ को जनगणना अनुसार ३० हजार ६२५ जनसंख्या बागमतीमा बढेर २० हजार ९० मतदाता पुगेको छ । मतदाता दाविविरोधको बिवरण आउँन बाँकी छ ।
मतदानमा सहभागिता वृद्धि, बदर मत नियन्त्रण
धेरै उम्मेद्वारको लागि मतदान गर्नु पर्ने भएको कारण संघीय र प्रदेशमा भन्दा पनि स्थानीय तहको मतदानमा सबैभन्दा बढी मत बदर भएको पाइएको छ । बदर मतकै कारणले धेरै उम्मेद्वार पराजीत भएको सर्वविदितै छ । सो कुरालाई आधार मान्ने हो भने बागमती गत चुनावमा लगभग २८ प्रतिशत मानिस मतदानबाट बञ्चित देखिन्छ । बञ्चित भएका मतदातालाई मतदानमा सहभागी गराउन सक्ने पार्टीले चुनावमा राम्रो मत ल्याउन सक्ने अवस्था देखिन्छ । खसेको मतमध्ये विभिन्न पदमा ४०३ (३.५१ प्रतिशत) मत बदर भएको थियो । यस विषयमा राजनीतिक पार्टी ध्यान दिनपर्ने देखिन्छ ।
प्राप्त जानकारी अनुसार माओवादी, एमाले कांग्रेस तीनै पार्टीका बागमती गाउँपालिकाको नेतृत्वमा बिजयी–पराजित उम्मेद्वारहरुले दोहोरीने पक्षमा देखिएका छन् । यद्यपी गाउँपालिकामा कुनै पार्टीका प्रतिनिधिले उम्मेद्वारी घोषणा गरेका छैनन् । पार्टीको नेतृत्वकर्ताले कसलाई टिकट दिन्छ त्यो भने र्हेन बाँकी छ ।
पार्टी टुटफुट गराउने नेतृत्वकर्ताको पेशा र पार्टी छाड्ने–समात्ने कार्यकताको पेशाकै रुपमा परिचित भएको छ । यसले चुनावको माहोलमा फरक अवश्य नै पार्छ । केन्द्रको राजनीतिले स्थानीय चुनावमा कम प्रभाव पर्छ भन्ने जनमानसको बुझाइ छ । तर, यसपटक सत्तागठबन्धनमा दोधारे गतिविधिका कारण मौनमतसहित अन्य मतमा पनि प्रभाव पर्ने विश्लेषकहरु बताउँछन् । भौतिक परिवर्तन मात्र नभई आर्थिक, सामाजिक र विज्ञान प्रविधिको विकास आजको अवश्यता हो । तर, हारजितको सुनिश्चित मत हुने भएकोले राजनीतिलाई जुवाको खेल पनि भनिन्छ । त्यो चुनावी मत परिणामले नै बताउँछ ।
यही ५ जेठ २०७९ देखि स्थानीय तहका जनप्रतिनिधिको म्याद सकिन्छ । स्थानीय तहका जनप्रतिनिधिको म्याद सकिनुभन्दा दुई महीनाअघि चुनाव गर्नुपर्ने कानुनी प्रवाधन रहेको छ ।