प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

प्रकृतिमाथि शिवमको निर्मम प्रहार, उद्योगकै संरक्षणमा मकवानपुरगढी सरकार

२०७९ चैत्र ४, शनिबार १४:२० बजे

हेटौंडा – कुनै नराम्रो गतिविधिको ढाकछोप गर्नुको पछाडि पक्कै स्वार्थ हुन्छ, त्यसमा दुईमत छैन । त्यस्तै मकवानपुरको मकवानपुरगढी गाउँपालिका शिवम् सिमेन्ट उद्योगको ज्यादतीको ढाकछोपमा उत्रिएको पाइएको छ ।

उद्योगले चुनढुङ्गा उत्खनन् गर्दा खानी क्षेत्रका स्थानीयवासीहरु प्रताडित भएको सबैलाई जानकारीमै छ । प्रताडित स्थानीयहरुले न्याय माग्दै ११ बुँदे माग वडा कार्यालय, जिल्ला वन, मानव अधिकार, जिल्ला समन्वय समितिदेखि जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट प्रधानमन्त्री कार्यालयसम्म राखे । ११ बुँदे माग हेर्न यहाँ क्लिक गर्नुहोस्

बागमती प्रदेशको मुख्यमन्त्री कार्यालयमा ज्ञापन पत्र बुझाउँदै स्थानीय पीडित ।

पीडितहरुको उक्त मागमा चुनढुङ्गा उत्खनन् गर्दा जथाभावी फ्यालिरहेको ओभर बर्डेनको समुचित व्यवस्थापन, प्रदुषण, खानीका कारण स्थानीयहरुलाई परेको समस्या, शिवम् सिमेन्ट उद्योग र नेपाल सरकार वन तथा भू–संरक्षण मन्त्रालयबीच भएको सम्झौता कार्यान्वयनको कुरा समावेश गरिएको थियो ।

माग सम्बोन्ध गर्ने भन्दै गत माघ २२ गते मकवानपुरगढी गाउँपालिका–७ का वडाध्यक्ष सुर्य बहादुर रुम्बाको अध्यक्षतामा छलफल भयो । माघ २९ गते वडाअध्यक्ष रुम्वाकै अध्यक्षतामा स्थलगत अनुगमन । उक्त समितिले आफ्नो कार्यक्षेत्र बस्ती संरक्षणमा मात्रै पर्ने भन्दै पाङटोल, आम्बोडे, भण्डारे, किटीनी, न्यौपानेटार लगायत बस्तिक्षेत्रको मात्रै निरीक्षण गर्यो ।

चुनढुङ्गा उत्खनन् गर्दाको प्रदुषण तथा प्राकृतिक स्रोतमा परेको अवसरको निरीक्षण, साथै भविष्यमा पर्न सक्ने दुर्घटनाको जोखिमका लागि कलवन डाँडामा ओइरिन तयार र ढुङ्ग्रे खोलाको खोचमा थुप्रिएको ओभर बर्डेन र क्षतिको निरीक्षण नै गरेन ।

मकवानपुरगढी गाउँपालिका वडा नं.८ स्थित कलवन खानीबाट झर्न तयारी अवस्थामा रहेको ओभर बर्डेन ।

वडा कार्यालयले अनुगमनको प्रतिवेदन चाहीँ आफ्नो क्षेत्राधिकार नै भुलेर हचुवाको भरमा सुटुक्क उद्योगको बचाउँ गर्दै सार्वजनिक गर्यो । उक्त प्रतिवेदनमा बस्ती संरक्षणमा कुनै जोखिम नभएको र स्थानीयहरुले उठाएका सबैकुराहरु सत्यता नभएको भनेको छ ।

उक्त प्रतिवेदन बोधार्थ मानवअधिकार आयोग, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, डिभिजन वन कार्यालय र शिवम् सिमेन्ट उद्योगलाई छ । शिवमका प्रतिनिधि बाहेक उक्त अनुगमनमा माथि उल्लेखित कुनै निकायको सहभागिता थिएन । हेर्नुस् यस्तो प्रतिवेदन

मकवानपुरगढी गाउँपालिका वडा नं.७ ले सार्वजनिक गरेको अनुगमन प्रतिवेदन । 

अनुगमनमा उद्योग र वन तथा भू–संरक्षण मन्त्रायल, वन विभागवीच भएको सम्झौता अनुसार चुनढुङ्गा उत्खनन् गरे, नगरेको निरीक्षण गर्ने कार्य डिभिजन वन हो । फागुन १२ गते अनुगमन गरेको डिभिजन वन कार्यालयले एक महिना वित्नै लाग्दा पनि प्रतिवेदन सार्वजनिक गरेको छैन ।

सम्झौता पालनाको विषयमा प्रश्न उठ्दा आफ्नो क्षेत्राधिकारमा नपर्ने भन्दै पन्छिने जनप्रनितिधिले अनगुमन नै नगरी उद्योगले खानी सञ्चालन गर्दा उत्पन्न भएका समस्याको विषयमा स्थानीयहरुले उठाएका कुराहरुमा वडाले सत्यता छैन, भन्नु शिवम् सिमेन्ट उद्योगसंग जनप्रतिनिधि र कर्मचारीको स्वार्थ रहेको प्रष्ट हुन्छ ।

बर्षातमा ओभर वर्डेनका कारण बस्तिमा कस्तो असर पर्न सक्छ ? भनेर ओइरिन तयार भएका ओभर बर्डेन र क्षतिको निरीक्षण नै नगरी वडा कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनप्रति स्थानीयहरुले आपत्ती जनाएका छन् ।

सम्झौताको बुँदा नम्बर १७ मा सम्झौतामा उल्लेखित क्षेत्रमा कार्य सञ्चालन गर्दा स्थानीय व्यक्ति वा समुदायलाई प्रतिकुल असर नपर्ने व्यवस्था आयोजना आफैले मिलाउनु पर्नेछ, यस सम्बन्धमा नेपाल सरकारको कुनै दायित्व रहने छैन, उल्लेख गरेको छ ।

त्यस्तै सम्झौताको बुँदा नम्बर १९ को गर्न नपाईने क,ख,ग,घ चारवटा बुँदा छन् । यसमा खोला नाला थुनछेक, वनस्पतीहरुको विकासमा अरोवध, जीवजन्तुको बासस्थानमा हानीनोक्सानी, भौतिक स्वरुप विगार्ने, स्थानीयको सामाजिक रितीरिवाज तथा पाराम्पारिक अधिकारको उपयोगमा व्यवधान उत्पन्न गराउन पाइने छैन, भनिएको छ ।

मकवानपुरगढी गाउँपालिका वडा नं.८ स्थित कलवन चुनढुङ्गा उत्खननका कारण वन क्षेत्रमा पहिरो ।

उद्योगसंगको मिलोमत्तोमा जनप्रतिनिधि र कर्मचारीले सम्झौतामा उल्लेखित कुराको मध्यनजर नै नगरी अध्ययन रिर्पोट सार्वजनिक गरेर खानी प्रभावित जनतामाथि कुठाराघात गरेको पीडितहरु बताउँछन् । खानी प्रभावित जनताको समस्या नदेख्ने र उद्योगको पक्षपोषण गर्ने जनप्रतिनिधि र कर्मचारीमाथि छानविन हुनु पर्ने पीडित मंगलमान स्याङतान बताउँछन् ।

के भन्छ वन ?
डिभिजन वन कार्यालय, मकवानपुरका प्रमुख शिव सापकोटासंग प्रतिक्रिया लिन खोज्दा सम्भव नभएपछि वनकै एक कर्मचारीसंग बुझ्दा वनले आफ्नै प्रतिवेदन तयार गर्ने बताए । सम्झौता अनुसार भए–नभएको हेरेर नै प्रतिवेदन सार्वजनिक गरिने उनले बताए ।

वडालाई समय छैन, पालिकालाई थाहा छैन

यस विषयमा वडाअध्यक्ष, पालिका उपाध्यक्ष र अध्यक्षसंग प्रतिक्रिया लिन खोज्यौँ, तर उनीहरु गैर जिम्मेवारपूर्ण देखिए । स्थानीयको माग सम्बोधन र अनुगमन पश्चातको अध्ययन रिर्पोटको विषयमा बोल्न घरमा आराम गर्दै बसेका वडाध्यक्ष सुर्य बहादुर रुम्बासंग समय नै थिएन । उनले मिडियामा बोल्ने समय नभएको भन्दै फोन काटिदिए ।

उता पालिका उपाध्यक्ष मानकुमारी नेपाली पाख्रिनले वडाले प्रतिवेदन तयार गरेको जानकारी नभएको भनिन् । पालिका अध्यक्ष दोर्जे लामा स्याङ्तान साँझ परेपछि आफु भेटघाटमा व्यस्त रहेका थिए । उनले भने, “म मिटिङमा छु, यो कुरा पछि गरौँ न हैँ ।”

स्थानीयलाई समस्या पर्ने गरी कुनै काम गरेको छैनः उद्योग
उता शिवम् सिमेन्ट उद्योगका भाइस प्रेसिडेण्ट रामजी प्रसाद चौरासियाले स्थानीयलाई समस्या पर्ने गरी कुनै काम नगरेको दाबी गरे । उनले यति ठुलो उद्योगको विषयमा केही मानिस विरोधमा उत्रिनु स्वभाविक भएको तर्क गरे । सामाजिक उत्तरदायित्वका सम्पुर्ण दायित्व पुरा गरेको उनको भनाई छ ।

जनप्रतिनिधि र कर्मचारीसंग मेलमिलाप गरेर जनता झुक्याउने शिवम सिमेन्ट उद्योग, आफ्नो सम्झौता कार्यान्वयनबाट भाग्ने पुरानो प्रवृत्ति हो । स्थानीय छानुकान्छा मोक्तानका अनुसार उद्योगले खानी सञ्चालन भएको विंसं.२०६४ सालदेखि नै पीडित जनतालाई झुक्याउँदै आएको थियो ।

सम्बन्धित समाचारहरु 

शिवमको खानी क्षेत्र अनुगमन झारा टार्ने, उद्योगको अवैध काम सिडिओले देखेनन्

शिवमको कालाकर्तुतः स्वीकृती बिना बर्षौँ चुनढुङ्गा उत्खनन्(भिडियो सहित)

चुनढुङ्गा खानी क्षेत्रमा शिवम सिमेन्ट उद्योगको दादागिरी, माग पुरा गर्न पीडितको अल्टिमेटम

शिवमको लगानी, जनप्रतिनिधिको काम, महिना दिन नबित्दै स्ल्याव भयो झ्वाम

मकवानपुरगढीमा गठबन्धनको जितसंगै खानीदेखि खोलासम्म ब्यापक दोहन हुने आशंका

शिवम सिमेन्ट उद्योगको सेटिङमा अवैध काम, क–कसले पाए कति दाम ?

टिपर ओभरलोड नबोक्न मान्दैनन्, मकवानपुरका ट्राफिक बोल्नै मान्दैन

शिवम र रिद्धिसिद्धिको रझाई: औंसी–पुर्णे चेकिङ्ग, हुँदैन कारवाही क–कस्को छ सेटिङ्ग ?