प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा जिल्ला स्तरीय भेट्रान्स साईकल दौड प्रतियोगिता हुने

२०८१ आश्विन ९, बुधबार १९:५८ बजे

हेटौंडा – हेटौंडामा जिल्ला स्तरीय भेट्रान्स साईकल दौड प्रतियोगिताको आयोजना हुने भएको छ । हिमालयन राइडर्स सोसाइटीले जेनिथ इङ्लिस सेकेन्डरी बोर्डिङ स्कुलको समन्वयमा यही असोज १९ गते प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

स्वास्थ्य, पर्यावरण, पर्यटन र खेलकुदका लागि साईकल भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको जिल्ला स्तरीय भेट्रान्स साईकल दौड प्रतियोगितामा ४० बर्ष भन्दा माथि उमेर समूहकाले सहभागिता जनाउन पाउने छन् । नेपालीहरुको महान चाड बडा दशैंको अवसरमा शुभकामना आदानप्रदान संगै साईकल चलाउँदा स्वास्थ्यमा हुने फाईदाको बारेमा बुझाउन यस कार्यक्रम सहयोगी हुने हिमालयन राईडर्स सोसाईटका अध्यक्ष राजु थापा मगरको बिश्वास रहेको छ ।

जिल्ला स्तरीय भेट्रान्स साईकल दौड प्रतियोगितामा सहभागी हुन असोज १७ गतेसम्म नाम दर्ता गराउनु पर्नेछ । सहभागिताको लागि नाम दर्ता शुल्क ५ सय रुपैयाँ तोकिएको अध्यक्ष मगरले जानकारी दिए । प्रतियोतितामा ५० जना भन्दा बढिको सहभागिता रहने अनुमान गरिएको छ ।

प्रतियोगिता हेटौंडा ४ हुप्रचौरबाट सुरु भै चिसापानी, कर्रा, कमाने, गौरीटार, चौघडा, पिप्ले भैरवरोड हुँदै हुप्रचौरमा आएर समापन हुनेछ । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेहरुले शिल्ड, मेडल तथा प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै सान्त्वना हुने २ जनालाई समेत पुरस्कारको व्यवस्था गरिएको छ ।