हेटौंडा – मकवानपुरको हेटौंडा उमहानगरपालिका वडा नं.१ स्थित राप्ति खोलाको तटमा श्रद्धालुहरूले सूर्य देवलाई सन्ध्या अर्घ अर्पण गर्दै छठ पर्व हर्षोल्लासका साथ मनाएका छन्।
चार दिनसम्म मनाइने छठ पर्वको प्रमुख दिन बिहीबार सूर्य उपासनाका रूपमा मनाइने यस पर्वमा उपवासी श्रद्धालुले सूर्यास्तको बेला हेटौंडाको राप्तीतटमा पुगेर सूर्यलाई सन्ध्या अर्घ दिएर पूजा अर्चना गर्दै धुमधामका साथ छठ मनाएका हुन्।
स्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाउनका लागि टाँगिएको ६ सय २० फिट लामो पन्डालमा ठुलो भिड लागेको थियो । छठ पर्वमा व्रतालु र अवलोकन गर्न जानेहरु हजारौँको संख्यामा सहभागी थिए ।
छठ पर्व विशेषगरी मधेश प्रदेश र नेपालको तराई क्षेत्रमा निकै महत्त्वका साथ मनाइने भएता पनि पछिल्लो समयमा हेटौंडामा हर्षोल्लासका साथ मनाउँदै आइरहेका छन् । गत बर्षको तुलनामा यसबर्ष छठ पर्वमा अवलोकन गर्न राप्ती तट पुग्नेहरुको सख्या कम रहेको जानकारहरु बताउँछन् ।
यो पर्वमा श्रद्धालुहरूले आफ्नो सन्तान, परिवार र सम्पूर्ण समाजको स्वास्थ्य र समृद्धिको कामना गर्दै चार दिनसम्म कठोर व्रत पालना गर्छन्। पर्वको तेस्रो दिनलाई सबैभन्दा महत्वपूर्ण मानिन्छ, जहाँ श्रद्धालुले जलाशयमा सूर्यलाई अर्घ चढाउने परम्परा छ। श्रद्धालुहरूको सुरक्षित र व्यवस्थित पूजाका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय, स्वयंसेवकहरू परिचालित भएका छन्।