प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

निःशुल्क स्वास्थ शिविरमा २ सय ९१ जनाले लिए सेवा

२०७९ मंसिर २४, शनिबार १३:२४ बजे

हेटौंडा – बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा भएको निःशुल्क स्वास्थ शिविरमा २ सय ९१ जनाले सेवा लिएका छन्। स्वास्थ्य शिविरमा नेपाल प्रहरीका २ सय ३१ जना तथा शसस्त्र प्रहरी वल नेपालका ४५ जना सकल दर्जाका कर्मचारीहरु तथा १५ जना प्रहरी कर्मचारी परिवारका सदस्यले निःशुल्क स्वास्थ्य सेवा लिएको बागमती प्रदेश प्रहरीले जनाएको छ । जसमा महिलाको संख्या ७३ जना र पुरुषको संख्या २ सय १८ जना रहेका छन् ।

नेपाल प्रहरी श्रीमती संघ र सशस्त्र प्रहरी परिवार महिला संघको संयूक्त आयोजना तथा कलेज अफ मेडिकल साईन्सेस चितवनसंगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर गरिएको हो । सिविरमा निःशुल्क भिडियो ऐक्स(रे तथा इसिजी सेवा, मृगौला तथा मुत्ररोग परीक्षण, रक्तचाप तथा मधुमेह परीक्षण, छाला सम्बन्धी परीक्षण, हाड जोर्नी तथा नशा सम्बन्धी परीक्षण र स्त्री तथा प्रसुती रोगसम्बन्धी परीक्षण गरिएको नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कुसुम लता सिंहले जानकारी दिइन् । स्वास्थ्य जाँच पश्चात् निःशुल्क औषधी समेत वितरण गरिएको उनले जानकारी दिइन् ।

नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कुसुम लता सिंह प्रमुख अतिथ्यता तथा शसस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष अनिता लामिछाने अर्याल र बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यको विशिष्ट आतिथ्यतामा उक्त स्वास्थ्य सिविर सम्पन्न भएको हो ।

नेपाल प्रहरी श्रीमती संघ संस्थाको स्थापना २०४१ सालमा भएको हो । स्थापना कालदेखि नै संस्थाले प्रहरी परिवारका महिलाहरुको मात्र नभै समग्र महिलाहरुको सिप विकास,आय आर्जन, स्वास्थ्य, शिक्षा, क्षमता अभिवृद्धि जस्ता विभिन्न बिषयहरुमा सचेतनाको लागि विभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेको अध्यक्ष सिंहले बताइन् । संस्थाले अमर प्रहरी परिवार,घाईते,दिर्घरोगी प्रहरी कर्मचारीका सन्ततिलाई छात्रबृत्ति,आर्थिक सहयोग,सहारा विहिन बृद्ध बृद्धाहरुलाई राहत सहयोग, समय समयमा निस्शुल्क स्वास्थ्य शिविर सचालन गर्दै आईरहेको उनले जानकारी दिइन् ।

नेपाल प्रहरी श्रीमती संघको सक्रियतामा हालसालै बहालवाला प्रहरी कर्मचारी, निजका परिवारजन, अमर प्रहरी परिवार र पुर्व प्रहरी परिवारको स्वास्थ्य उपचार सेवामा छुट प्रदान गर्न चितवन मेडिकल कलेज शिक्षण अस्पताल र मेघा अस्पतालसंग सम्झौता पत्रमा हस्ताक्षर भएर कार्यान्वयन समेत भईरहेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार शैक्षिक छात्रवृत्ति प्रदान गर्न देशका विभिन्न शैक्षिक संस्थाहरुसंग समेत सम्झौता भएर कार्यान्वयनको चरणमा रहेको छ ।