हेटौंडा – मकवानपुर जिल्लाभित्र सञ्चालन हुने सवारीसाधनको भाडा निर्धारण गरिने भएको छ ।
जिल्लाभित्रका विभिन्न मार्गहरूमा सञ्चालन हुने सवारीसाधनहरूको लागि अस्थायी बाटो र भाडा निर्धारण सिफारिसको लागि ६ सदस्यीय समिति समेत गठन गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
आइतबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी(सिडिओ) राजेन्द्रदेव पाण्डेको अध्यक्षतामा बसेको बैठकले श्रम, रोजगार तथा यातायात मन्त्रालय, बागमती प्रदेशको योजना तथा अनुगमन महाशाखाका प्रमुख हरिहर पोख्रेलको संयोजकत्वमा ६ सदस्यीय समिति समेत गठन गरिएको हो ।
बैठकले मदन भण्डारी लोकमार्गको हेटौडा–फापरबारी–बागमती सडक खण्डको भाडादर अर्को व्यवस्था नभएसम्मका लागि प्रतिव्यक्ति प्रतिकिलो मिटर रू.३.७२ कायम समेत गरेको छ ।