प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

शानदार जितसहित विजय युथ मकवानपुर गोल्डकपको सेमिफाइनलमा

२०७९ जेठ २६, बिहीबार ०५:३६ बजे

हेटौंडा – शानदार जित निकाल्दै घरेलु टोली विजय युथ क्लब हेटौंडामा जारी चौथो स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको प्रतियोगिताको तेस्रो क्वाटरफाइनल खेलमा विजय युथले नव जनजागृती क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।

विजय युथलाई सहज जित दिलाउनका लागि अमिर श्रेष्ठ, सञ्जोक राई र सुनिल घलानले एक–एक गोल गरे ।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा विजय युथले तीन गोल गर्यो । 

खेलको ५४ औँ मिनेटमा अमिर श्रेष्ठले गोल गर्दै बिजय युथलाई १–० को अग्रता दिलाए । खेलको ६४ औँ मिनेटमा सञ्जोक राईले गोल गर्दै विजय युथले अग्रता दोब्बर बनायो ।amir bijay (3) 

खेलको अन्तिम मिनेटमा नव जनजागृतीका साहिदले अमिरलाई डिबक्सभित्र फाउल गरेपछि बिजय युथले पेनाल्टी पायो । तर, अमिर टोली अग्रता तेब्बर बनाउने अवसरबाट चुके । उनले प्रहार गरेको पेनाल्टी गोल पोष्टको फ्रेममा समेत पर्न सकेन ।

खेलको निर्धारित ९० मिनेटको समय सकिएपछि अतिरिक्त ४ मिनेट सयम थप गरिएको थियो । अतिरिक्त समयमा सुनिल घलानले गोल गर्दै टोलीलाई ३–० को शानदार जित दिलाए ।

उत्कृष्ट खेल प्रर्दशन गर्दै टोलीका लागि एक गोल गरेका विजय युथका सुनिल घलान म्यान अफ द म्याच घोषित भए । उनले नगद १० हजार सहित ट्रफि हात पारे ।

dona bijay (5)

यसअघिको खेलमा नव जनजागृतीले बागमती युवा क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै विजय युथसंग भेट पक्का गरेको थियो । घरेलु टोली विजय युथले भने सिधै क्वाटरफाइनलमा स्थान पाएको थियो ।

अब फाइनल प्रवेशको लागि विजय युथले विभागिय टोली नेपाल पुलिस क्बलसंग भिड्नेछ । विजय युथ र पुलिसबिचको खेल जेठ २७ गते हुनेछ ।

मकवानपुरको १० पालिकाको सहयोग र फुटबल संघ मकवानपुरको आयोजना भएको प्रतियोगितामा विजेताले १५ लाख र उपविजेता टोलिले १० लाख प्राप्त गर्ने छन् ।

त्यस्तै विधागत उत्कृट हुने प्रशिक्षक सहित ६ खेलाडीले ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइलक प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल जेठ ३० गते हुनेछ ।