प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बागमती प्रदेश: एमालेले तत्काल सरकार नछाड्ने

२०७९ फाल्गुन १७, बुधबार ०४:३१ बजे

हेटौंडा – बागमती प्रदेशमा सत्ता गठबन्धनमा रहेको नेकपा (एमाले)ले तत्काल सरकार नछाड्ने भएको छ । राष्ट्रपति निर्वाचन प्रकरणमा केन्द्रीय राजनीति पेचिलो बन्दै गए पनि प्रदेशमा दोस्रो ठूलो दल रहेको र नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकारमा रहेको एमालेले सरकार तत्काल नछाड्ने भएको हो ।

एमालेका तर्फबाट बागमती प्रदेश सरकारमा चार जना मन्त्री छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शनिबार बागमती प्रदेश सरकारबाट राजीनामासहित अलग हुने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि प्रदेशको सत्ता समीकरण प्रभावित हुने आकलन गरिएको थियो ।

एमाले बागमती प्रदेश संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले भने अहिले सरकार छोड्ने मनस्थितिमा आफूहरू नरहेको जानकारी दिनुभयो । सङ्घीय सरकारबाट एमाले मन्त्रीहरूले राजीनामासहित सरकारलाई दिएको समर्थन फिर्ता लिइएको र यस प्रदेशमा के हुन्छ भन्ने जिज्ञासामा तत्काल सरकार छाड्ने योजना नभएको उहाँले बताउनुभयो ।

राप्रपाका तीन मन्त्रीले राजीनामासहित सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि सरकारका लागि आवश्यक बहुमत कायमै छ । राप्रपाका मन्त्रीहरू उद्धव थापा, डम्बर बहादुर तामाङ र राजु विष्टले पार्टीको केन्द्रीय नीतिअनुसार प्रदेश सरकारबाट राजीनामा दिनुभएको थियो ।

११० प्रदेश सभा सदस्य रहेको बागमती प्रदेशमा सरकार गठनका लागि ५६ प्रदेश सभा सदस्य भए बहुमत पुग्नेछ । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल गत पुसमा मुख्यमन्त्री बन्दा प्रदेश सभामा रहेका सात दलमध्ये पाँच दलका ७० जना प्रदेश सभा सदस्यको समर्थन पाउनुभएको थियो।गोरखापत्र दैनिकबाट