हेटौंडा – बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ तीन नम्बर पुलमा बिहीबार बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १८ पुगेको छ । उपचारका क्रममा दुर्घटनामा गम्भीर घाइतेमध्ये भरतपुर अस्पताल चितवन र नारायणी अस्पताल वीरगञ्जमा थप एक–एक जनाको मृत्युसंगै मृतकको सङ्ख्या १८ पुगेको हो ।
मृत्यु हुनेमा बारा करैयामाई गाँउपालिका घर भई भरतपुर नगरपालिका १२ बस्ने १६ वर्षीया प्रितिका चौधरी र वीरगन्ज महानगरपालिका १६ नगवाकी ६० वर्षीय मालतदेवी चौरसियाको रहेको प्रहरीले जनाएको छ । यसअघि दुर्घटनामा घाइते भएका १२ जनाको हेटौंडा अस्पताल, दुई जना चुरेहिल अस्पतालमा, सहकारी अस्पतालमा एक जना र भरतपुर लैजाने क्रममा एक जनाको मृत्यु भएको थियो ।

हेटौडा उपमहानगरपालिका ७ की ५६ वर्षीया शुभलक्ष्मी श्रेष्ठ, सोही ठाँउकी २० वर्षीया सोस्तीका श्रेष्ठ, जीतपुरसिमरा उपमहानगरपालिका २२ का २८ वर्षीय सुरेश विक, कलैया उपमहानगरपालिका २ बस्ने ४१ वर्षीय लिलाराज चौधरी, कलैया उपमहानगरपालिका १० का २६ वर्षीय ईताजत अंसारी, सोही ठाउँकी ३६ वर्षीया नाजलिन खातुन मृत्यु भएको थियो ।

त्यस्तै चितवन खैरहनी नगरपालिका ५ बुडौलीकी ६३ वर्षीया नन्दकुमारी पुडासैनी, चितवन कालिका नगरपालिका रमाईलो चोक बस्ने शंकर कडेलको १५ वर्षीय छोरा सफल कडेंल, वीरगन्ज महानगरपालिका १६ का ६५ वर्षीय सोमप्रसाद चौरसिया, सोही ठाँउकी ३६ वर्षीया मुन्नीदेवी चौरासिया, ओखलढुंगाका लालबहादुर बोगटी, चितवन खैरहनी नगरपालिका ५ का २५ वर्षीय मनोरथ पुडासैनी, गोर्खाका ३५ वर्षीया अम्बिका कंडेल, जनकपुर उपमहानगरपालिका ५ का ५० वर्षीय सन्तोषकुमार राय, बारा सुवर्ण गाँउपालिका ७ का ५५ वर्षीय रामआश्रय राय यादव र पर्सा सखुवाप्रसौनी गाउँपालिका ६ लखनपुरका ५५ वर्षीय दया राउत कम्करको मृत्यु भएको थियो ।

मृतकको शव परिवारले अस्पतालबाट बुझेर लगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र सापकोटाले जानकारी दिए । दुर्घटनामा घाइते भएका २६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको उनले बताए ।
सापकोटाका अनुसार पुरानो मेडिकल कलेज चितवनमा १४ जना, चितवन मेडिकल कलेजमा ५ जना, चुरेहिल अस्पताल, सहकारी अस्पताल र गण्डक अस्पतालमा २–२ जना र हेटौडा अस्पतालमा १ जनाको उपचार भईरहेको छ । केही घाइतेहरुको अवस्था अझै गम्भीर रहेको अस्पतालले प्रहरीलाई जानकारी दिएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणघाटबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६–००१ ख ०११० नम्बरको बस जीतपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जस्थित ३ नम्बर पुल नजिकै मोडमा बिहीबार बिहान ब्रेकफेल भएर दुर्घटना भएको थियो।