हेटौंडा – मकवानपुर बहुमुखी क्याम्पसमा नेपाली कांग्रेसनिकट नेविसंघका भिषण ठकुरी पक्षले टायर बालेर विरोध प्रदर्शन गरेका छन् ।
निर्वाचन समितिले नेविसंघको सुवास सापकोटा पक्षलाई आधिकारिकता दिएको भन्दै नेविसंघकै ठकुरी पक्षले टायर बालेर विरोध प्रदर्शन गरेको हो ।
उनीहरुले क्याम्पसमा तोडफोड र तालाबन्दी पनि गरेका छन् । तोडफोडमा क्याम्पस प्रमुखको कार्यकक्षसहित ४ झ्यालको सीसा फुटेको छ ।
क्याम्पसमा स्ववियु निर्वाचनका लागि २७ फागुनमा नेविसंघको दुईवटा समूहले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरेका थिए ।
जसमा आइतबार क्याम्पसको निर्वाचन समितिले स्ववियु निर्वाचनका लागि संगठन दर्ता नेविसंघका अध्यक्ष सुवास सापकोटाबाट भएको भन्दै आधिकारिकता दिएको छ ।
आउँदो चैत ५ गते हुने स्ववियु निर्वाचनमा मकवानपुर बहुमुखी क्याम्पसमा दुई समुहबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ ।
एमालेको अनेरास्ववियु, नेकपा एसको अनेरास्ववियु र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपानिकट अखिल क्रान्तिकारीले चुनावी तालमेल गरेको छ । उक्त गठबन्धनमा क्याम्पसको स्ववियु सभापति एमालेनिकट अनेरास्ववियुले लिएको छ ।
अर्को गठबन्धनमा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी, कांग्रेसनिकट नेविसंघ र राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनबीच गठबन्धन छ । यस गठबन्धनको स्ववियु सभापति अखिल क्रान्तिकारीले लिएको थियो ।