हेटौंडा – मकवानपुरमा पछिल्लो एक हप्तामा जंगली च्याउ खाएर ३ जनाको मृत्यु भएको छ भने १९ जना बिरामी परेका छन् ।
मृत्यु हुनेमा कैलाश गाउँपालिका–९ नामटारका ४ वर्षीय दिपेश लामा, कैलाश ९ कै निरुमाया रुम्बा र राक्सिराङ गाउँपालिका–७ का बल बहादुर प्रजा रहेका छन् ।
जंगली च्याउ खाएर बिरामी परेका दिपेशको असार ८ गते चितवन मेडिकल कलेजमा, निरुमायाको ९ गते र असार ९ गते बल बहादुरको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
असार ९ गते बल बहादुरसहित परिवारका पाँचजना विरामी परेका थिए । हेटौंडा अस्पतालमा उपचारको क्रममा बलबहादुरको मृत्यु भएको थियो । उनको श्रीमती र छोराछोरी भने उपचाररत छ्न् ।
असार ७ गते मकवानपुरगढी गाउँपालिका–६ का ८ जनाले जंगली गोब्रे च्याउ खाएर बिरामी परे । उनीहरुको हेटौंडा अस्पतालमा उपचार भएको थियो । त्यसैगरी राक्सिराङ ८ लाचेमा पनि जंगली च्याउको सेवनबाट एकै परिवारका ४ जना बिरामी भएका छ्न् । भुवल प्रजाको परिवारले जंगली च्याउ खादा उनको श्रीमती , भाइ र छोरा बिरामी परे । उनीहरुको पनि उपचार जारी छ ।
पछिल्लो एक हप्ताको अवधिमा जंगली च्याउ सेवन भएर बिरामी भएकाहरु मध्य ८ जनाको डिस्चार्ज भइसकेको छ भने अरु उपचाररत रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।