प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मिनी ट्रक दुर्घटना हुँदा ३ जना बालबालिकाको मृत्यु, ८ जना घाइते

२०८१ कार्तिक १२, सोमबार २०:४७ बजे

काठमाडौं – सल्यानको कपुरकोट गाउँपालिका-६ सिनबाङ्गको दुबेदेबाट धान र पराल लिएर सिनबाङ्ग जाँदै गरेको मिनी ट्रक सोमबार बेलुकी दुर्घटना हुँदा तीन जना बालबालिकाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।

कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा पुनका अनुसार मृत्यु हुनेमा स्थानीय १४ वर्षीय गोबर्द्धन खडका, १२ वर्षीय डिल्ली भन्ने अनिल भण्डारी, बर्ष १५ कि सिर्जना बस्नेत रहेका छन् । दुई जनाको घटनास्थलमै र एकजनाको उपचारका लागि लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते हुनेमा १३ वर्षीया खुमा बस्नेत, १३ वर्षीया सृजना बस्नेत, ३५ वर्षीया नन्दा बस्नेत, १७ वर्षीय जीत सागर बस्नेत, १७ वर्षीय संजीव बस्नेत, २९ वर्षीय शंकर खडका, ३५ वर्षीय देवबहादुर बस्नेत, २२ वर्षीय हिक्मत थापा र गाडी चालक २४ वर्षीय मानबहादुर भण्डारी छन् ।

जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक रेसम बहादुर खत्रीले घाइते भएका सबैलाई अहिले उपचारका लागि कपुरकोट गाउँपालिकाको अस्पतालमा राखिएको बताउनुभयो । घाइते भएका केहीको अवस्था गम्भीर रहेकाले रिफर गर्न लागिएको छ ।

उनका अनुसार दुर्घटनामा परेको मिनी ट्रक सडकदेखि १ सय ५० मिटर तल खसेको थियो । साँघुरो बाटो भएकाले मिनी ट्रक दुर्घटनामा परेको देखिए पनि कसरी दुर्घटना भयो भन्ने नखुलेको उहाको भनाइ छ ।