हेटौंडा – पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१५ रातोमाटेबाट अवैध सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा विहार राज्य फुलबरिया पूर्वी चम्पारण बरेवा बस्ने ३४ वर्षीय सुजित सर्राफ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाका अनुसार बा.प्र.०३–००१ ज ६९६ नम्बरको माइक्रोमा वीरगन्जबाट हेटौंडातर्फ आउँदै गरेका सर्राफको साथबाट बिस्कुटको आकारको ५ वटा टुक्रा र एकथान सिक्री गरी ४९० ग्राम ८८० मिलिग्राम सुन बरामद भएको हो । उनको पैतलाको भागमा कालो टेपले बेरेर लुकाई ल्याएको सुनको बिलबिजक नभए प्रहरीले नियन्त्रणमा लिएको उनले बताए ।
उक्त सुनको बजार भाउअनुसार ६७ लाख ३४ हजार ५४४ रुपैयाँ रहेको सापकोटाले बताए । सुनसहित पक्राउ परेका सर्राफमाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको उनले बताए ।