हेटौंडा – बर्षायाममा सुरु भइसकेको छ । एकैछिनमा चरक्क घाम अनि छिनमै पानी । त्यसपछि उर्लिन्छन् खोला, नाला, खहरे, खोल्सीहरु । यो बर्षायामको बिशेषता हो । तर यो मौसम कसैलाई खुशी बनाइन्छ, त कसैलाई टाउको दुखाई । त्यस्तै पानी परेपछि टाउको दुख्छ हेटौंडा उपमहानगरपालिका वडा नं.१ का एकटारेवासीको ।
वारी चौकीटोेल पारी एकटारेबस्ती बिचमा निरन्तर बग्छ राप्ती खोला । बर्खायाम दर्किन्छ पानी, कहाँ ? कति खेर ? उर्लिन्छ खोलो थाहाँ छैन । तै पनि दैनिक जोखिम मोल्न बाध्यछन् एकटारेका २२ वर्षीय बिजय तामाङ । उनी पेसाले सवारी चालक । हेटौंडाबजारमा उनी एक पसलको सरसामान ढुवानी गर्ने गाडी चलाउँछन् । विहान सबेरै पसल पुग्नुपर्छ । उनी जोखिम मोलेरै खोला तरेर हेटौंडा बजार आउने जाने गर्छन् । यो उनको रहर होइन बाध्यता हो ।
गाउँसम्म पुग्ने कुनै सडक सञ्जाल, खोला वारपार गर्ने पुल नभएको कारण तामाङ जोखिम मोलेरै खोला तर्न बाध्य भएको गुनासो पोख्छन् । ‘गाउँमा न गाडी हिड्ने बाटोनै छ, न पुलनै,’ उनले भने, ‘खोला तरेर हेटौंडा बजार आउने बाहेक अरु विकल्पनै छैन ।’

पुल र सडक नहुुँदा त्यहाँका स्कुले बालबालिका, बृद्धबृद्धाहरु बढी समस्यामा छन् । बालबालिकाहरु आखाँ अगाडी आफ्नै घरलाई टुलुटुल हेर्दै आफन्त वा कोठाभाडामा लिएर पढ्नुपर्ने बाध्यता छ । ‘ठुलो पानी परेको बेलामा गाउँघरमा गाह्रो सारो भयो भने पनि तत्काल अस्पताल ल्याउन सक्ने अवस्था छैन ।’ तामाङ पीडादायी कुरा गर्दै भन्छन्,‘भोट माग्न आउँदा नेताहरुलाई एउटा झोलुङगे पुल बनाइदेउँ भनेको ? मानेको होइन । अब के हुन्छ । पुल बनाइदे त आउन जान सहज हुन्थ्यो ।
मुख्यमन्त्री निवास र मन्त्रलायबाट नजिकै छ एकटारे
एकटारेगाउँबाट करिब एक किलोमिटरको दुरीमा समृद्ध बागमती प्रदेश बनाउँछु भन्ने मन्त्रालयहरु छन् । त्यही दुरीमा मुख्यमन्त्री, मन्त्री, मेयर, वडाअध्यक्षसम्मका जनप्रतिनिधिको बसोवास छ । अग्लो सेतो विल्डिङ्ग अनि झ्यालै पिच्छे मन्त्रालय भएको भवनबाट सहजै देखिन्छ एकटारे बस्ती । झ्यालै पिच्छे मन्त्रालय भएको भन्दाअलि माथि मुख्यमन्त्री निवास रहेको छ । त्यहाँबाट झन् स्पष्ट देखिन्छ एकटारे गाउँलाई । स्थानीय सरकारको पाँच बर्ष सकिएर पुनः निर्वाचन सम्पन्न भइसकेको छ । प्रदेश सरकारले पाँच बर्षे यात्रा तय गर्दैछ । तैपनि पुल र सडक बन्ने आसमा छन् एकटारेवासीहरु ।
हेटौंडा उपमहागनरपालिका वडा नं. १ का वडाअध्यक्ष सविन न्यौपान सरकारी मापदण्ड अनुसार छोटो दुरीमा पुल राख्न र वनको कारण सडक विस्तारमा समस्या भएको बताउँदै सक्दो प्रयास गर्ने भन्दै पन्छिए । स्मरण रहोस्, न्यौपाने सोही वडामा पाँच बर्षे कार्यकाल चलाएर पुनः निर्वाचित भएका हुन् । अनि पुर्वउपमेयर हालका मेयर मिना कुमारी लामा सोही वडामा बस्दै आएका छन् ।