हेटौंडा – जाडोयाम सुरु भएसँगै मकवानपुरमा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्न थालेको छ । साउनबाट देखिन थालेको डेङ्गु कात्तिक दोस्रो साताबाट घट्दै गएको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए।
“भदौ र असोजमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढेको थियो, चिसो सुरु भएसँगै सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ." सूचना अधिकारी घिमिरेले भने। स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार जिल्लामा डेगु सङ्क्रमितको सङ्ख्या ७३० पुगेको छ। साउन १ देखि हालसम्म पुरुष ३७३ र महिला ३५७ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो। साउनमा १२३. भदौमा ३२९ असोजमा १७२२ कात्तिक १८ गतेसम्म १०६ जनामा डेङ्गु सङ्क्रमण भएको छ ।
गत २४ घण्टामा पाँच जना डेङ्गु सङ्क्रमित थपिएका छन्। आइतबार जिल्लाको हेटौँडा उपमहानगरपालिकाका तीन जना, बकैया गाउँपालिकाको एक जना र बाहिरी जिल्लाको एक जनामा डेङ्गु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्लामा सबैभन्दा धेरै हेटौंडा उपमहानगरमा डेगु सङ्क्रमित भेटिएका छन्। यहाँ ५०३ जनामा डेङ्गु सक्रमण पुष्टि भइसकेको छ । जिल्लाको कैलाश गाउँपालिकामा भने डेङ्गु सङ्क्रमितको सख्या शून्य रहेको छ ।
त्यस्तै थाहा नगरपालिकाका तीन जना, मकवानपुरगढी गाउँपालिकाका १९ जना, बागमती गाउँपालिकाका २४ जना, मनहरी गाउँपालिकाका ६६ जना, इन्द्रसरोवर गाउँपालिकाका चार जना भीमफेदी गाउँपालिकाका ३६ जना, बकैया गाउँपालिकाका २३ जना र राक्सीराङ गाउँपालिकामा दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।
जिल्लामा डेङ्गु सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ। मकवानपुरमा गत आर्थिक बर्षमा दुई हजार ६५९ जना महिलासहित पाँच हजार ८६४ जनामा डेङ्गु सङ्क्रमण भएको थियो । गोरखापत्र दैनिकबाट