हेटौंडा – बागमती प्रदेशको राजधानी हेटौंडामा आजदेखि स्थानीय तह सहिद स्मृती अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ ।
मकवानपुरको १० पालिकाको सहयोग र फुटबल संघ मकवानपुरको आयोजना हेटौंडा उपमहानगरपालिका वडा नं.५ स्थित पिप्ले क्याम्पा रंगशालामा मकवानपुर गोल्डकपको चौथो संस्करण सुरु भएको हो ।
प्रतियोगिता हेटौंडा उपमहानगरपालिकाका पूर्वमेयर हरि बहादुर महतले रेफ्रीलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरे।
प्रतियोगिताको उद्घाटन खेलमा मोफसलका दुई टोली समुह ए बाट नवजनजागृती र बागमती युवा क्लबबीच प्रतिस्पर्धा भइरहेको छ। पहिलो हाफको खेल सकिदा नव जनजागृती १ गोलले अग्रता बनाएको छ ।
नव जनजागृतीका लागि खेलको ८ औँ मिनेट विबेक चौधरीले गोल गर्दै अग्रता दिलाएका हुन् । यस खेलमा जित निकाल्ने टोलीले क्वाटरफाइनलमा घरेलु टोली विजयी युथ क्लबसंग भिड्नेछ ।
विजेता टोलीले ट्रफिसहित नगद १५ लाख प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले ट्रफिसहित नगद १० लाख प्राप्त गर्नेछन् । विधागत उत्कृट हुने प्रशिक्षक सहित ६ खेलाडीले ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् ।
त्यस्तै प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई हेटौंडा स्कुलअफ म्यानेजम्यान्टले बुलेट बाईक प्रदान गर्नेछ । हरेक खेलको म्यान अफ दि म्याचले दश हजार प्राप्त गर्नेछन्।
प्रतियोगितामा एडिभिजन, मोफसल र विदेशी सहित १२ टोलीको सहभागिता रहेको छ । आज १९ गते सुरु भएको प्रतियोगिताको फाइनल खेल जेठ ३० गते हुने छ ।