हेटौंडा - प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय अन्तरगतको स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्र हेटौंडाले प्रदेशको सात वटा प्रादेशिक अस्पतालहरुलाई एकएक वटा एम्बुलेन्स हस्तान्तरण गरेको छ । बुधबार एक कार्यक्रम आयोजना गरी प्रदेशको स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले प्रादेशिक अस्पतालका प्रमुख तथा प्रतिनिधिहरुलाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।
स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रका अनुसार ५२ लाख ९० हजार रुपैयाँका दरले टेण्डर मार्फत सात वटा एम्बुलेन्स खरिद गरिएको थियो । सात वटा एम्बुलेन्सको कुल लागत ३ करोड ७० लाख रुपैयाँमा रहेको स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रले जनाएको छ ।
उक्त एम्बुलेन्स भक्तपुर अस्पताल, बज्रबाराही चापागाउँ अस्पताल, टोखा चण्डेश्वरी अस्पताल, पशुपति चौलागाईँ स्मृति अस्पताल दोलखा, मेथिनकोट अस्पताल काभ्रे, रामेछाप अस्पताल र बकुलहर रत्ननगर अस्पताललाई ९ख० वर्गको एम्बुलेन्स उपलब्ध गराईने बताईएको छ ।
हस्तान्तरण कार्यक्रमलाई संबोधन गर्दै मन्त्री श्रेष्ठले सरकारको दायित्व जनताको स्वास्थ्य सुरक्षा भएकोले आफू मन्त्री नियुत्त भएपछिको पहिलो निर्णय नै एम्बुलेन्स प्रदान गर्ने र जनस्वास्थ्यको चासो राख्ने रहेको बताए । उनले स्वास्थ्यको पहुँच सबैतिर पुर्याउनका लागि आग्रह समेत गरे । प्रदेश सरकारले स्वास्थ्य नीति लिएर काम गरिरहेको उनले बताए ।
केन्द्रका निमित्त निर्देशक डाक्टर अर्जुनप्रसाद सापकोटाका अनुसार अस्पतालहरुलाई ख वर्गको एम्बुलेन्स प्रदान गरिएको हो । एम्बुलेन्समा बिरामी सहित बिरामीको २ जना कुरुवाहरु, स्वास्थ्यकर्म बस्ने सुविधादेखि अत्याधुनिक सेवा सुविधा अन्तरगत डेलिभरी सेट, ड्रेसिङसेट, वासिङ यक्युुपमेन्ट,टु वे भिडियो कन्भसेसन डिभाइस, मोबाइल डिभाइस, फो जि कनेक्टेभिटी डिभाइस,वाकीटकी, क्यामरा, जिपिए सिक्टम समेत जडान गरिएको छ ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिब बद्री बहादुर खड्का, स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठ, हेटौंडा अस्पतालका रजिष्टार राजेश प्रसाई लगायतकाको आतिथ्यता रहेको थियो ।