हेटौंडा – मकवानपुरको कैलाश गाउँपालिका वडा नं. १० बस्ने ३२ वर्षीय रामसिंह मोक्तान लागुऔषध गाँजा र नगद सहित पक्राउ परेका छन् । उनी सिन्धुलीको कमलामाई नगरपालिका वडा नं.९ भिमानबाट पक्राउ परेका हुन् ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले अवैध लागूऔषध गाँजा करिब १ सय ५५ केजी(डेढ क्वीन्टल) र नगद २ लाख रूपैयाँसहित मोक्तानलाई सोमबार पक्राउ गरेको हो ।
काठमाडौंबाट महोत्तरीतर्फ जाँदै गरेको बा.२० च ९८३ नम्बरको हात्तिगाडीलाई चेकजाँच गर्ने क्रममा गाडीको पछाडी ढालाको तल सेफ बनाई लुकाई छिपाई ल्याएको उक्त परिमाणको गाँजा फेला पारी गाडीका चालक मोक्तानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।