प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुर क्षेत्र नम्बर २ बाट डिना सिफारिस, बानियाँ प्रदेशमै लड्ने

२०७९ भाद्र १७, शुक्रबार ०७:५९ बजे

हेटौंडा – नेपाली कांग्रेसको सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस भएकी छिन्।

बिहीबार बसेको क्षेत्रीय समितिको बैठकले डीनालाई क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउन एक मात्र नाम सिफारिस गरेको हो । समानुपातिकतर्फ सन्तबहादुर प्रजा र उमा दाहालको नाम सिफारिस भएका छन् ।

बैठकले २ नम्बर क्षेत्र को ख का लागि कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ, जिल्ला सभापति बुद्ध लामा, शंकर न्यौपाने र ईश्वर पाठकलाई सिफारिस गरेको छ । प्रदेशको समानुपातिकतर्फ भने १९ जनाको नाम सिफारिस भएको छ।

प्रदेशको समानुपातिकतर्फ जानकी लामा तामाङ, जानुकी लामासहित १९ जनाको नाम सिफारिस गरिएको नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ ख का सचिव कृष्ण योञ्जनले जानकारी दिए ।