प्रहर खबर
 २०८३ श्रावण ८, शुक्रवार    

राजषी ठाँटका दिपक सिंह, कति पुग्छ सर्वसाधारणको पहुँच ?

२०७९ बैशाख २१, बुधबार १३:०३ बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिकाको मेयरको लागि तीन जना उम्मेदवारविच कडाप्रतिस्पर्धा हुने देखिएको छ । जसमध्ये एक हुन् राप्रपाका दिपक बहादुर सिंह । राजतन्त्र अन्त्यपछि चुनाव हार्ने राप्रपाका नेता मध्ये उनी पनि एक हुन् । उनी दोस्रो संविधानको चुनावमा पराजित भएका थिए भने त्यसपछि उनी सम्पर्कविहिनै भएका थिए ।

त्यसपछि बैशाख ३० गते हुने स्थानीय चुनावमा हेटौंडाको मेयरमा सिंहले सस्प्राइज इन्ट्री मारे । उनको इन्ट्रीले राप्रपा मकवानुरका मात्र नभई एमाले र गठबन्धनलाई समेत चकित बनाएको थियो । पछिल्लो समय राजनीतिमा निष्क्रिय उनी कसरी मनोनयन दर्ता गर्न आए ? हाल उनी राप्रपाको सक्रिय कार्यकर्ता बाहेक अन्य कुनै पदमा समेत नरहेको बुझिएको छ ।

हेटौंडाको मेयरका अन्य उम्मेदवारको तुलनामा सिंह चर्चित छन् । उनको उम्मेदवारी किन ? कसरी भयो ? सर्वसाधरण उत्सुक थिए । तर, विडम्बना त्यो जान्ने स्थानीय पत्रकारहरुको पहुँच नै पुगेन । मनोनयन दर्ता गरेपछि चुनाव होमिने पालिका प्रमुख देखि वडासदस्यका उम्मेदवारहरु एकाएक राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यमा छाएका छन् । तर, राष्ट्रिय टेलिभिजनमा देखिएका सिंह स्थानीय सञ्चारमाध्यमा उपस्थिती शुन्यनै रह्यो ।

मकवानपुरका धेरै सञ्चारकर्मीले सिंहको बारेमा बुझ्ने र लेख्ने प्रयास गरे तर, सकेनन् । उनी निकटस्थ रहेका केही ब्यक्तिसंग बुझ्दा उनको बारेमा केही पाउन सकिएन । सम्पर्क गर्दा उनी निकट केही कार्यकर्ताले स्थानीय मिडियामा देखिदा इमेज डाउन हुने सम्मका घुमाउरो प्रतिक्रिया समेत दिए ।

उनीसंग पत्रकारहरुले भेट्न उम्मेदवारी दर्ता गरेको झण्डै दुई साता जस्तै कुर्नु पर्यो । धेरै पत्रकारहरुको फोन गएपछि मंगलबार बेलुका ७ बजे पत्रकारहरु भेटघाटको लागि डाके ।

“भष्टाचार मुक्त हेटौंडा उपमहानगरपालिका बनाउने” अनि “सेवा सुविधा नलिने, उल्टै थपेर दिने” उनको भोट माग्ने र ताग्ने अस्त्रको रुपमा छ । उनले आफ्नो ब्यक्तिगत बारेमा भन्दा पनि आफ्नो चुनावी अस्त्रको बारेमै बेलिविस्तार गरे ।

त्यसपछि उनले पत्रकारहरुलाई प्रश्न राख्न अनुरोध गरे । उनी माथि धेरै प्रश्न तेर्सियो । राजषी जिवन विताउँने सिंहमाथि “मिडियाकर्मीले तपाई भेट्न यति गाह्रो छ भने आम जनताले भेट्न कति गाह्रो होला ?, आम सर्वसाधरणको लागि काम गर्छु भन्ने तपाईलाई जनताले समस्या ल्याउदा भेट्ने कहाँ ? खोज्ने कहाँ ?, सर्वसाधारणहरु मिडिया भको ठाउँमा आउनु पर्यो भने तपाईलाई हामीले के भन्ने ? पत्रकारहरुले प्रश्न गरे । “तपाईको ब्यक्तिगत फोन पनि उठ््दैन भन्ने गुनासो आयो ?” प्रश्न थपे ।

चुनावको ब्यस्तता र विना तयारीको उम्मेदवारको कारणले समय दिन नभ्याएको सिंहले जवाफ दिए । “फोन त म राती १ बजे भएपनि उठाउने मान्छे हुँ, मेरो एउटै मात्र फोन छ, दिनमा दशौँ हजार फोन गरि राखेको छ । अहिले तपाइहरुसंग बस्दा पनि बन्द गरी राखेको छु,” उनले भने,“दिपक सिंहलाई भेट्न जाँदा खेरी कुकुरले टोक्छ भन्थे तपाईहरुलाई टोक्यो ।”

सिंहसंग निर्वाचन विषयक कुराकानी गर्न मकवानपुरका पत्रकारहरुलाई अझै हम्मेहम्मे छ भने उनीसंग भेट गर्ने सर्वसाधरणको पहुँच भन्दा बाहिरको कुरा हो । मंगलबार गरेको पत्रकार सम्मेलनमा सबै जनतासंग भेट्ने समय नरहेको बताउँदै सिंहले आफु विशेष विशेष ब्यक्तिलाई भेट्ने गरेको सोही कार्यक्रममा बताएका थिए ।

मतदाता उम्मेदवारहरुको शक्ति हो । मतदाता जसको पक्षमा हुन्छ उहिनै शक्तिमा पुग्छ । कुन उम्मेदवारलाई भोट हाल्ने ? किन ? के कारण ? मात्र नभई उनिहरुको पृष्ठभुमि बारे जानकारी पाउनु मतदाताको अधिकार हो । सोही अधिकार प्रत्याभुती गराउन सञ्चारमाध्यमहरुको ठुलो भुमिका छ ।

राजनीतिज्ञ भन्दा उनी हेटौंडामा खान्दानी ब्यवसायीको रुपमा परिचित छन् । उनमा रजोगुण स्वभाव अझै पनि झल्किन्छ । तात्कालिन राजखान्दानसंग नजिक हुनु र राजावादी भएकोले रजोगुण देखिनु नौलो कुरा नहोला । यही गुण निरन्तर रहिरहे भोलि राप्रपाका उम्मेदवार सिंहले चुनाव जित्दै गर्दा आखाँले हेर्दा देखिने र हातले छाम्दा भेटिने स्थानीय तहको मर्म र स्थानीय जनप्रतिनिधीको अनुभुति सर्वसाधरणले गर्न पाउलान् ? गम्भीर पश्न उठेको छ ।