प्रहर खबर
 २०७९ जेठ १४, शनिबार    

उपप्रमुख सहित नौ उम्मेदवारको मृत्यु, यी स्थानीय तहको निर्वाचन सर्‍यो(सूचीसहित)

२०७९ बैशाख २९, बिहीबार १०:१९ बजे

हेटौंडा – वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि विभिन्न पदमा उम्मेदवारी दिएका ९ जनाको मृत्यु भएको छ । निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका एक लाख ४५ हजार ११ जनामध्ये नौ जना उम्मेदवारको मृत्यु भएको निर्वाचन आयोगले जनाएको छ ।मृत्यु हुनेमा एक उपप्रमुख, दुई वडाअध्यक्ष, तीन खुल्ला वडासदस्य, दुई दलित महिला वडासदस्य र एक महिला वडासदस्य रहेका छन् । 

कपिलवस्तुको महाराजगंग नगरपालिकाको कांग्रेसको तर्फबाट उपमेयरको उम्मेदवार शुभावती कर्मी, दाङको तुलसीपुर नगरपालिकाको वडा नम्बर १७ एमालेकोतर्फबाट वडा अध्यक्षका उम्मेदवार लभरु चौधरी र कपिलवस्तुको बुद्धभूमि नगरपालिका नम्बर ८ मा एमालेका तर्फबाट वडा अध्यक्ष उम्मेदवार ओमप्रकाश तिवारी मृत्यु भएको आयोगले जनाएको छ ।

canditidet

त्यस्तै कपिलवस्तुकै कपिलवस्तु नगरपालिका वडा नम्बर १० मा माओवादी केन्द्रबाट वडा सदस्यका उम्मेदवार राजेन्द्र चौधरी थारु, सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर ६ को कांग्रेसको तर्फबाट दलित महिला सदस्यकी उम्मेदवार मडुवादेवी चमार, रौतहट वृन्दावन नगरपालिका वडा नम्बर ५ मा जनता समाजवादी पार्टीबाट महिला सदस्यकी उम्मेदवार मिना देवी, मोरङको केरावारी गाउपालिका २ मा कांग्रेसका वडा सदस्यका उम्मेदवार नवीन लिम्बू, रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नम्बर ३ एमालेको तर्फबाट दलित महिला सदस्यमा उम्मेदवारी दिएकी कसुमी पासिन र सिराहा नगरपलिकामा एमालेको तर्फबाट वडा नम्बर ५ मा वडा सदस्य दिएकी मुना सेखको मृत्यु भएको आयोगले जनाएको छ ।

उम्मेदवारहरुको मृत्यु भएपछि ती ठाउँको निर्वाचन कार्यक्रममा संशोधन भर्ने भएको छ भने केहीमा नयाँ निर्वाचन कार्यक्रम नै तय गरिएको छ । महाराजगंग नगरपालिका र तुलसीपुर नगरपालिका वडा नम्बर १७ को निर्वाचन जेठ ३ को लागि तय गरिएको निर्वाचन गरिने आयोगले जनाएको छ । अन्य ७ स्थानको निर्वाचन कार्यक्रम संशोधन गरिएको छ ।