हेटौंडा – प्रहरीले मोटरसाइकल चोरीमा संलग्न चार जनालाई पक्राउ गरेको छ । पर्साको वीरगञ्ज महानगरपालिकामा दुई वटा मोटरसाइकल चोरीमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका–२५ बस्ने २० वर्षीय आकाश कुमार पटेल, २८ वर्षीय दिपेन्द्र प्रसाद पटेल र सोही महानगरपालिका–२० बस्ने २९ वर्षीय मनिर मियाँ अन्सारी रहेका छन् । उनीहरुले वीरगञ्ज महानगरपालिका–१४ बस्ने ३८ वर्षीय दिनेश प्रसाद राउतको ना.३४ प १९२८ नम्बरको मोटरसाइकल चोरी गरेको प्रहरीले जनाएको छ ।
चैत ४ गते राति वीरगञ्ज महानगरपालिका–२५ स्थित सडकमा पार्किङ गरी राखेको अवस्थामा उक्त मोटरसाइकल चोरी गरी ना.२५ प १४६६ नम्बर प्लेट लगाइ चलाउँदै गरेको खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले सो कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उक्त मोटरसाइकल वीरगञ्ज महानगरपालिका–२० हरपतगञ्जबाट बरामद गर्नुका साथै सोही स्थानमा कागजपत्र नभएका अन्य ६ वटा मोटरसाइकल समेत फेला पारी प्रहरीले बरामद गरेको छ ।
यसैगरी वीरगञ्ज महानगरपालिका–१ बस्ने २४ वर्षीय सन्जु रामको प्रदेश २–०३–०१८ प ००१८ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा बारा कोल्हवी नगरपालिका–१ बस्ने २३ वर्षीय अच्छेलाल चौधरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–२ स्थित सडकमा पार्किङ गरी राखिएको अवस्थामा उक्त मोटरसाइकलको लक तोडी चोरी गरी भाग्दै गरेको अवस्थामा सोही महानगरपालिका–३ छप्कैयाबाट फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरू उपर चोरी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।