प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

इन्गेजमेन्ट टुटेपछि युवतीले गरिन् आत्मदाह

२०७९ मंसिर २०, मंगलबार ११:०१ बजे

काठमाडौं – काठमाडौंमा ‘इन्गेजमेन्ट’पछि विवाह रद्द हुँदा युवतीले केटाकै घरमा पुगेर ‘आत्मदाह’ गरेकी छन् ।गएको आइतबार साँझ बानेश्वरकी २६ वर्षीया पुष्पा न्यौपानेले धुम्बाराहीस्थित केटाको घरमा पुगी आफ्नो शरीरमा पेट्रोलियम पदार्थ छर्किएर आगो लगाएकी थिइन् । उनको अस्पतालमा मृत्यु भएको हो ।

दरबारमार्गमा रहेको केल्मी ब्राण्डको सोरुम चलाउने न्यौपानेसँग २९ वर्षका सुधन संग्रौलाको इन्गेजमेन्ट भएको थियो । प्रहरीले यो घटनामा यसअघि चार जनालाई पक्राउ गरेको थियो । अदालतले सुधनलाई मात्र हिरासतमा राख्न अनुमति दिएको छ । यसअघि सुधनका आमाबुबा दिनेश संग्रौला र बिन्दु संग्रौला पनि पक्राउ परेका थिए । तर, उनीहरु छुटेका छन् ।

प्रहरीले पुष्पाको परिवारबाट जाहेरी आएपछि उनीहरुलाई पक्राउ गरेको थियो । सुधन र पुष्पाबीच १८ भदौमा विवाह गर्नका लागि इन्गेजमेन्ट भएको थियो । एक वर्षभित्र उनीहरुको विवाह गर्ने सहमति भएको थियो । तर, शनिबार केटा पक्षले घरमा नै पुगेर सुपारी र दक्षिणा फिर्ता गर्दै इन्गेजमेन्ट तोडिएको घोषणा गरेको थियो । यसबाट पुष्पा विक्षिप्त बनेकी थिइन् ।

आइतबार मात्रै उनले सुधनको घरअगाडि गएर शरीरमा पेट्रोल छर्किएर आगो लगाएकी थिइन् । आगोले जलेकी पुष्पालाई प्रहरीले उद्धार गरेर कीर्तिपुरको वर्न अस्पतालमा पुर्याएको थियो । त्यहाँ उनको सोमबार मृत्यु भयो ।

पुष्पाले शरीरमा आगो लगाएको देखे पनि उनलाई उद्धार नगरेको भन्दै उनको परिवारले सुधनको परिवाविरुद्ध किटानी जाहेरी दिएको हो । आत्महत्या दुरुत्साहन कसुरमा किटानी जाहेरी दिएपछि सुदनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अगाडि बढाएको बताइएको छ ।