हेटौंडा – स्थानीय तह शहिद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता चौथो संस्करणको उपाधि विभागिय टोली त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ ।
हेटौंडास्थित पिप्ले क्याम्पा रंगशालामा सोमबार भएको फाइनल खेलमा आयोजक टोली विजयलाई २–१ गोल अन्तरले पराजित गर्दै आर्मीले लगातार दोस्रो पटक उपाधि जितेको हो ।
आर्मीलाई उपाधि दिलाउनको लागि फाइनल खेलमा कप्तान भरत खवास र कमल बहादुर थापाले एक–एक गोल गरेका थिए । उता विजय युथका डोना थापाले एक गोल फर्काएका थिए ।
निकै प्रतिस्पर्धात्मक फाइनल खेलको सुरुवातमै आर्मीले अग्रता बनाएको थियो । खेलको १५ औँ मिनेटमा टेक बहादुर बुढाथोकीको पासमा आर्मीका कप्तान भरत खवासले गोल गर्दै १–० अग्रता दिलाएका थिए ।
आर्मीको अग्रता धेरै बेर टिकेन । खेलको २५ औँ मिनेटमा आर्मीका युद्ध साहीले डोना थापालाई फाउल गरेपछि विजय युथले पेनाल्टी पायो । डोनाले पेनाल्टीलाई सदुपयोग गर्दै गोल गर्दै विजय युथलाई खेलमा फर्काए ।
पहिलो हाफ १–१ गोलको बराबरी सकिएपनि आर्मी दोस्रो हाफमा थप एक गोल गर्यो । खेलको खेलको ५१ औँ मिनेटमा कमल बहादुर थापाले गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए ।
खेलको ५५ औँ मिनेटमा अशोक बरालले सन्तोष केसीलाई फाउल गरेपछि आर्मीले पेनाल्टी पाएको थियो । तर दिनेश हेन्जनले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर बनाउने मौका खेर फाले ।
त्यसपछि अवसर पाएपनि विजय यूथका खेलाडीले गोल गर्न सकेनन् । खेलको ८३ औँ मिनेटमा विमल रानाले वान भर्सेस वान अवस्थामा गोल गर्ने अवसर खेर फाले । बाँकी समयमा विजय युथले गोल गर्न नसकेपछि कमल बहादुर थापाका गोल आर्मीलाई उपाधि जित्न निर्णायक बन्यो ।
उपाधि जिताउनको लागि निर्णायक गोल गरेका आर्मीका कमल बहादुर थापा म्यानअफ द म्याच घोषित भए । उनले नगद १० हजार प्राप्त गरे ।
प्रतियोगिताको उपाधि विजेताले आर्मीले १५ लाख रुपैयाँ र उपविजेता विजय यूथले १० लाख रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी विजय युथका गोलरक्षक अशोक बराल घोषित भए । उनले रोयल इन्फिल्ड बुलेट बाईक प्राप्त गरे । बुलेट बाइक हेटौंडा स्कुल अफ म्यानेज म्यान्टले उपलब्ध गराएको थियो ।
यस्तै प्रतियोगिताको विधागततर्फ आर्मीले क्लिनसिप गर्यो । उत्कृष्ट फरवार्ड दिनेश हेम्जन, उत्कृष्ट डिफेन्डरमा बिमल पाण्डे, उत्कृष्ट गोलरक्षकमा विकेश कुथु, उत्कृष्ट मिडफिल्डर बिवेक बस्नेत र आमीकै नबिन न्यौपाने उत्कृष्ट कोच घोषित भए । विधागत उत्कृष्ट हुनेहरुलाई २५–२५ हजार सहित मेडल पाए्।
गोल्डकपको विजेता र उपविजेतालाई प्रमुख अतिथि बागमती प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता इन्द्र बहादुर बाँनिया, हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ, वडाअध्यक्ष सुशिल घिमिरे लगायतले पुरस्कार बितरण गरेका थिए ।
२०६२–०६३ को जनआन्दोलनका शहीदहरुको स्मृतिमा हेटौंडामा पहिलो पटक थालिएको गोल्डकपको चौथो संस्करणको मकवानपुरको १० स्थानीय तहको आर्थिक सहयोगमा जिल्ला फुटबल संघ मकवानपुरले आयोजना गरेको हो । यही जेष्ठ १९ गते सुरु भएको प्रतियोगितामा एक विदेशी टोली सहित १२ टोलीको सहभागिता रहेको थियो ।
२०६४ सालमा राष्ट्रिय फुटबल प्रतियोगिताको पहिलो संस्करण आयोजना गरिएको थियो । पहिलो संस्करणको उपाधि थ्रिस्टार क्लब, २०७५ मा भएको दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुर–११ र २०७७ मा भएको तेस्रो संस्करणको उपाधि आर्मीले नै जितेको थियो ।