प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मनकामना दुग्ध उत्पादक सहकारीको बिक्री केन्द्र हेटौंडामा सञ्चालन

२०८० माघ १७, बुधबार १८:२१ बजे

हेटौंडा – मकवानपुरगढी गाउँपालिका वडा नं.३ मा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले दूध र दूधबाट बनेका परिकारको बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ । सहकारी संस्थाले हेटौंडा उपमहानगरपालिका–२ पुरानो मकवानपुर रोडमा आजबाट बिक्री सुरु गरेको हो ।

बिक्री केन्द्रको मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतानले उद्घाटन गरे । संस्थाले खरिद गरेको दूध र दूधबाट बनेका विभिन्न परिकारहरु बिक्री गर्नेछ । सहकारीले हेटौंडामै आएर उपभोक्ताका लागि दुग्धजन्य पदार्थहरू उपलब्ध गराउनु खुशीको कुरा भएको अध्यक्ष स्याङतानले बताए। आफ्नो पालिकामा रैथाने वालीको प्रवर्द्धनका लागि आफू लागिपरेको उनले बताए।

हेटौंडाका उपभोक्ताहरूलाई सस्तो र गुणस्तरीय परिकार खुवाउने उद्देश्यले सहकारीले पुरानो मकवानपुर रोडमा बिक्री केन्द्र खोलेर आज उद्घाटन गरिएको सहकारीका अध्यक्ष अर्जुन दाहालले बताए।

यस बिक्री केन्द्रमा दूध, दही, पनिर, नौनी, मोही, खुवा, छुर्पी समेत खुद्रा तथा थोक मूल्यमा बिक्री सुरु गरिएको सहकारीका व्यवस्थापक शशी लंसालले जानकारी दिनुभयो। सहकारीले उद्योग नै खोलेर दूधका परिकारहरू उत्पादन गर्दै आएको छ।

अबदेखि हेटौंडा बजारका उपभोक्ताहरूलाई सहज रूपमा दूध र दुग्धजन्य पदार्थ उपलब्ध गराउनका लागि बिक्री केन्द्रबाट सहयोग पुग्ने अपेक्षा गरिएको छ।