काठमाडौं – राष्ट्रिय फुटबल टिमका फरवार्ड नवयुग श्रेष्ठ अनसोल्ड भएका छन् । शनिबार दोस्रो संस्करणको नेपाल सुपर लिग ९एनएसएल० अक्सनमा अनसोल्ड भएका हुन् ।
अक्सनमा ए क्याटागोरीका नवयुगलाई कुनै पनि क्लबले खरिद गर्न चासो देखाएनन् ।अनसोल्ड उनलाई यदि पछि कुनै टोलीले किन्न चाहेको खण्डमा किन्न सक्नेछ । अव पछि किन्दा मूल्य पनि घट्नेछ ।
नवयुग यसअघि प्रतियोगिताको पहिलो संस्करणमा पोखरा थन्डर्सका मार्की खेलाडी थिए । विभागीय टोली त्रिभुवन आर्मीमा आवद्ध नवयुग ‘ए’ डिभिजन लिग सुरुहुनु पूर्व तयारीका बेला घुँडामा चोट लागेपछि मैदानबाट बाहिर भएका थिए ।
चैत २६ गतेदेखि सुरु हुने प्रतियोगिताको लागि आज अक्सन काठमाडौंमा भइरहको छ । अक्सनमा कुल १ सय ७८ खेलाडी छन् । ए ग्रेडमा २७ खेलाडी छन् । ए ग्रेडका खेलाडीको अक्सन न्यूनतम मूल्य १ लाख ५० हजार छ ।
एनएसएलमा काठमाडौं रेजर्स, धनगढी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, ललितपुर सिटी, बुटवल लुम्बिनी फुटबल क्लब, बिरगंज युनाइेड एफसी, स्पोर्टिङ्ग मेची डे र झापा एफसी छन् ।