मकवानपुर – मकवानपुरको हेटौडा उपमहानगरपालिका-१५, रातोमाटे चेकपोइन्टमा १७५ किलो लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन्।
प्रहरी चौकी रातोमाटेको टोलीले पूर्व-पश्चिम लोकमार्गमा हेटौडाबाट पथलैयातर्फ जाँदै गरेको बा.प्रदेश ०३-००१ च १५८४ नम्बरको पिकअप गाडीमा गाँजा लुकाइछिपाई ल्याउँदै गरेको अवस्थामा पक्राउ गरेको हो।
पक्राउ परेकामा गाडी चालक बकैया गाउँपालिका-४ का २४ वर्षीय सुमन लामा र सोही गाडीमा सवार हेटौडा उपमहानगरपालिका-११ का २४ वर्षीय सुशिल भोलन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीले गाडीको ढालामा खाली क्रेटहरूले छोपेर लुकाइएको गाँजा बरामद गरेको जनाएको छ। बरामद लागूऔषध, पिकअप गाडी, र दुबै व्यक्तिलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।