प्रहर खबर
 २०८० फाल्गुन १०, बिहीबार    

मकवानपुरका शिवालयहरुमा दिवंगत पितृको सम्झनामा शतबीज छरियो

२०८० मंसिर २५, सोमबार ०८:१६ बजे

हेटौंडा – प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छरिएको छ । आइतबार रातभर दीपदान गरी बसेका भक्तजनले सोमबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउँछन् ।

त्यस्तै हेटौंडा–४ को पशुपति मन्दिर र हेटौंडा–१ स्थित राप्ती किनारको गोरक्षश्वर मन्दिर लगायत मकवानपुरका दश वटै स्थानीय तहका शिवालयमा शतबीज छरिएको छ । हिजो रातभर दीपदान गरी बसेका भक्तजनले आज बिहानै पितृको सम्झनामा शतबीज छरेका हुन् । शतबीज छर्न मकवानपुरका विभिन्न ठाउँबाट भक्तजनहरु हेटौंडाको पशुपतिमा आएका थिए ।

पशुपति मन्दिरमा आउन नसक्ने भक्तजनले भने आआफ्ना घर नजिकैको शिवालयमा शतबीज छरेका छन् । आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ ।