प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

प्रथम प्रदेश खेलकुद प्रतियोगिताको भव्य उद्घाटन

२०७८ फाल्गुन २८, शनिबार १५:०६ बजे

हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले प्रथम प्रदेश खेलकुद प्रतियोगिताको आज (शनिबार) हेटौंडास्थित पिप्ले क्याम्पा रंगशालामा निकै आकर्षक र भव्य समारोहबीच उद्घाटन गरेका छन् ।

प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा हुन लागेको प्रथम खेलकुद प्रतियोगिताको मुख्यमन्त्री पाण्डेले ओलम्पिक टर्च बालेर ओलम्पियन धावक बैकुण्ठ मानन्धर हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा नेपाल आर्मी, नेपाल प्रहरीको व्याण्ड सहितको प्रस्तुती, विद्यार्थीहरुद्धारा ड्रिल प्रदर्शन, अतिसबाजी, मार्सल आट्र्स डेमो, विभिन्न तामाङ, नेवाः, थारु समुदायले आफ्नो झाँकी तथा खैजेडी र पञ्चेबाजाको साँस्कृतिक कार्यक्रमहरु प्रदर्शन गरिएको थियो ।

बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री रत्न प्रसाद ढकाल, प्रतिनिधि सभा सदस्य तथा नेपाल ओलम्पिक समितिका अध्यक्ष जिवनराम श्रेष्ठ, प्रदेश सभामुख सानुकुमार श्रेष्ठ, प्रदेश सरकारका मन्त्री, प्रदेश सभा सदस्य, कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्ट, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, राजनितिक दलका प्रमुख तथा स्थानीयहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा पिप्ले क्याम्पा रंगशाला निर्माणमा योगदान गरेका पूर्व राष्ट्रिय बक्सिङ खेलाडी तथा पिप्ले युवा क्बलका अध्यक्ष सुशील घिमिरेलाई सम्मान गरिएको थियो । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो गायन तथा नृत्य प्रदर्शन गरेका थिए ।

प्रतियोगिताको निकै आकर्षक र भव्य समारोहबीच उद्घाटन आज भएपनि भोलि आईतबारबाट खेलहरु शुरु हुनेछ । प्रतियोगिताका खेल मकवानपुरसहित पाँच जिल्लामा हुने बताइएको छ । मकवानपुरमा पुरुष फुटबल, ब्याडमिन्टन र तेक्वान्दो प्रतियोगिता हुनेछ ।

फुटबल र ब्याडमिन्टन प्रतियोगिता फागुन २९ गते र तेक्वान्दो प्रतियोगिता चैत ६ गते हुनेछ । चितवनमा फागुन ३० गतेदेखि भलिबल र क्रिकेट प्रतियोगिता हुनेछ । सिन्धुपाल्चोकमा चैत ७ गतेदेखि कराते प्रतियोगिता हुनेछ । त्यसैगरी काठमाडौँमा चैत ६ गतेदेखि एथलेटिक्स प्रतियोगिता हुनेछ । साथै, काभ्रेपलाञ्चोकमा चैत ७ गतेदेखि महिला फुटबल र चैत ९ गतेदेखि बक्सिङ प्रतियोगिता सुरु हुनेछ । खेलको समापन कार्यक्रम १२ गते शनिबार काभ्रेको धुलिखेलमा हुनेछ ।

प्रतियोगितामा एक हजार २०० भन्दाबढी पुरुष र ९०० भन्दाबढी महिला खेलाडीको सहभागिता रहने छन् । प्रतियोगिता आयोजनाका लागि आठ करोड ४ लाख खर्च हुने अनुमान छ ।