हेटौंडा – भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठानले ६ वटा विधामा पुरस्कार प्रदान गर्ने भएको छ । प्रतिष्ठानका अध्यक्ष हयग्रीव आचार्यले बुधबार हेटौंडामा पत्रकार सम्मेलनमार्फत पुरस्कार बारे जानकारी दिएका हुन् ।
आफ्नो कर्ममार्फत समाजको विभिन्न क्षेत्रमा योगदान पु¥याएका साहित्यकार, कलाकार, स्वास्थ्यकर्मी लगायत ६ विधामा पुरस्कार प्रदान गर्न लागिएको अध्यक्ष आचार्यले बताए ।
प्रतिष्ठानले प्रदेशिक रुपमा वितरण गर्दै आईरहेको पुरस्कार अन्तर्गत तुलसीमाया शिवकुमारी शिर्जनशील नारीबाट भावना सापकोटा, भीम–मथुरा बाल प्रतिभाबाट सुविज्ञा सुवेदी, विजय बानियाँ स्मृति लोक साङ्गीतबाट रविन्द्र चेपाङ, चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कार बासुदेव गुरागाईं, मंगलादेवी स्मृति स्वास्थ्य सेवा पुरस्कार वेला वैद्य र अजित सेन गुप्ता स्मृति भिन्न क्षमता पुरस्कार विदुर अधिकारीलाई नगद सहित समर्पण गरिने आचार्यले बताए ।
उनीहरुलाई क्रमशः १० हजार, ७ हजार ५ सय, २० हजार, १५ हजार र १०–१० हजार नगद सहित समर्पण गरिने बताईएको छ । पत्रकार सम्मेलनमा प्रतिष्ठानका निवर्तमान अध्यक्ष उज्वल शर्मा भण्डारी, उपाध्यक्ष विष्णुगोपाल महर्जन, प्रतिष्ठानका सल्लाहकार मुक्तिगोविन्द वैद्य महासचिव केशवलाल श्रेष्ठको उपस्थिती रहेको थियो ।