हेटौंडा – बागमती प्रदेशको राजधनी हेटौंडामा रहेर लामो समयदेखि ब्यापार गर्दै आइरहेको जमादार ग्रुपले ‘स्वदेशी सुपरमार्केटक’ सञ्चालनमा ल्याउने भएको छ ।
स्वादेशी उत्पादन भएका बस्तुको बजार प्रवद्र्धन गर्ने उदेश्यले र किसानले आफुले उत्पादन गरेको बस्तुको उचित मुल्य दिने हेतुले “स्वदेशी सुपरमार्केट“ सञ्चालन गर्न लागिएको जमादार ग्रुपका प्रोप्राईटर अमित अग्रवालले जानकारी दिए ।
उच्चतम सोच र नविनतम् उर्जाका साथ स्वदेशी उत्पादनलाई प्राथमिकतामा राखेर जमादार फुड प्रा लि.ले ‘स्वदेशी सुपरमार्केटको’ काम अगाडि बढाएको प्रोप्राईटर अग्रवालले बताए । उनले हाम्रो देशमा हामीलाई दैनिक रुपमा चाहिने हरेक बस्तु उत्पादन भएर बजार नपाएको कारण उपभोक्तासम्म पुग्न नपाएको बताए ।
‘किसानले आफ्नो उत्पादनको उचित मूल्य कहिले पाउने ? यसै प्रश्नको जवाफ दिनको हेतु हाम्रै देशकै खेतबारीमा उत्पादन हुने बस्तुलाई श्रमको उचित मुल्य सहित आम उपभोक्तासम्म पुर्याउने उदेश्यले “स्वदेशी सुपरमार्केट“ को सुरुवात गर्न लागिएको हो,’ उनले भने ।
स्वदेशी सुपरमार्केटको उद्देश्य नेपाली उत्पादनलाई बजार दिने मात्रै नभएर त्यसलाई एउटा नाम दिएर बजारमा चिनाउने पनि रहेको अग्रवाल बताउँछन् । यसले गर्दा कृषकको सामानले बजार र नाम दुबै पाउने उनको भनाई छ ।
जमादार ग्रुपले “स्वदेशी सुपरमार्केटको“ पहिलो आउटलेट हेटौँडामा सँचालनमा ल्याउँदै छ । यसको उद्घाटन २०८० साल वैशाखमा हुने प्रोप्राइटर अग्रवालले बताए । उनले ‘स्वदेशी सुपरमार्केट’ हेटौँडामा मात्र सीमित नभएर देशभरी विस्तार गरिने बताए ।