प्रहर खबर
 २०८३ जेष्ठ २१, बिहीवार    

खसीबोकाको तस्कर प्रेस चौतारीको सचिवमा निर्वाचित

२०७८ फाल्गुन २८, शनिबार ०१:१९ बजे

जनकपुरधाम – योग्य र दक्ष पत्रकार नभेटिएपछि प्रेस चौतारी नेपालले अयोग्य, गैरव्यवसायिक, माछा मासु तथा फलफूल व्यवसायी संघका पर्सा जिल्ला सचिव ग्यासु मियाँलाई मधेश प्रदेशको सचिवमा निर्वाचित गरेको छ ।

आठ कक्षा पनि नपढेका ग्यासु मिया अनुभवको आधारमा आफूलाई पत्रकार हैंन पत्रिकाको सम्पादक नै भन्दै हिंड्छन् । पर्साका स्थानीय पत्रकार नेताहरुलाई हप्तैपिच्छे घरमा मासु पुर्याएर योग्यता र मापदण्ड विपरीत पत्रकार महासंघको सदस्य हुन सफल भए, त्यत्ति मात्र नभई देशकै प्रतिष्ठित र मूलधारको टिभी च्यानल एभीन्यूज़ समेतमा ग्यासु मिया पर्सा जिल्ला समाचारदाताको रुपमा कार्य गरिरहेका छन् ।

तर पत्रकारिताको आडमा ग्यासु मियाँ देवानको धन्दा भने अर्कै रहेको जोकोहिलाई थाहा छ । ग्यासु मियाँले पत्रकारिताको आडमा पर्सास्थित नेपाल एवं सशस्त्र प्रहरीका एसपीसम्म आफ्नो पहुँच रहेको र राष्ट्रिय टेलिभिजन एभीन्यूज़मा कार्यरत रहेको भन्दै भारतबाट खुल्ला रुपमा खसी बोकाको तस्करी गराईरहेका छन् । भारतबाट खसी बोका नेपाल ल्याउनका लागि पशु क्वारेन्टाइनको स्वीकृति अनिवार्य हुन्छ ।

यसबाहेक सरकारले एउटा खसी बोकाको पाँच हजार पाँच सय भारु मूल्यांकन राखी त्यसको १० प्रतिशत भन्सार र ५ प्रतिशत अन्त:शुल्क तिर्नुपर्ने कानुनी व्यवस्था गरेको छ ।

यस अर्थमा हेर्दा पनि भन्सार र अन्:तशुल्क गरी १५ सय ६० रूपैयाँ तिर्नुपर्ने हुन्छ तर एक रूपैयाँ पनि भन्सार नतिरी दुवै प्रहरीको सेटिंगमा इनर्वागाउँबाट दैनिक झण्डै सय वटा खसी बोकाको तस्करी नेपालतर्फ हुँदै आएको छ । यो खसी बोकाको तस्करीको ठेक्का गयासु मियाँ देवानले गर्दै आएका छन् । पत्रकारको कार्ड देखाएर उनले यस्तो धन्दा गर्दै आएको जोकोहिलाई थाहा छ ।

इनर्वागाउँस्थित प्रहरी चौकीका असई र सोही स्थानमा खटिने सशस्त्र प्रहरी बलको वीरगंजस्थित बिओपी वीरगंज भन्सारका ड्युटीमा खटिने प्रहरीहरूलाई मिलाएर गयासुले दैनिक झण्डै सय वटा खसी बोका तस्करी गरी नेपाल भित्र्याउँदै आएका छन् ।
देवानले भारतबाट खसी बोका तस्करीका लागि आठ वटा मोटरसाइकल चालु हालतमा राखेका छन् र उक्त मोटरसाइकलमा एउटाले चलाउने र अर्को पछि बसी बीचमा दुई वटा खसी बोका हालेर दैनिक अवस्था हेरेर ७–८ पटकदेखि १० पटकसम्म पनि ल्याउने गरेको सीमाका स्थानीयहरू बताउँछन् ।

जतिवटा खसी बोका ल्याए पनि क्वारेन्टाइनका कर्मचारीको नाममा १८ सय रूपैयाँ बुझाउने काम पनि उनले गर्दै आएका छन् । तर क्वारेन्टाइनको रसिद देखाउन भनि केबल दुई देखि तीन सय रूपैयाँ मात्रै तिरेर सिफारिशवापतको रसिद लिने गर्दछन् ।

यसरी दैनिकरूपमा भित्रने ठूलो संख्याको खसी बोका वीरगञ्जमा मात्र नभई हेटौँडादेखि निजगढसम्म पुग्दछ ।

हिन्दूहरूको दोश्रो ठूलो पर्व फागुमा मासुको माग हवत्तै बढ़ने गरेका कारण पनि यतिखेर ग्यासुलाई भारतीय क्षेत्रबाट चोरबाटो हुँदै मासुजन्य खसी, बोका, बाख्रा भित्र्याउन भ्याई न भ्याई छ ।

यसरी देवानले भित्र्याएका तस्करीका खसी बोका काठमाडौँ र पोखरासम्म बसको डिकीमा हालेर पठाइने गरिएको छ । त्यत्ति मात्र नभई बारा, पर्सा, मकवानपुर र सर्लाहीसम्म पनि पठाइन्छ ।

पत्रकारको कार्ड भिरेर तस्करी गर्न र गराउन कसलाई छुट छ ? के ऊ कानुनभन्दा माथि छ ? भन्ने प्रश्न यहाँ बारम्बार उठे पनि देवानले सशस्त्रको भन्सारस्थित बिओपी, जिप्रका पर्सा, वडा प्रहरी कार्यालय बिर्ता, इनर्वा चौकी, भन्सार, इनर्वागाउँसमेतका केही चौकीलाई सित्तैमा मासु उपलब्ध गराएर र इनर्वागाउँ र त्यहाँ खटिने सशस्त्रका ड्युटीका प्रहरीहरूलाई रकम दिएर खसी बोकाको तस्करी हुँदै आएको छ ।

खसी बोकाका अलावा भारतीय सीमा बजार रक्सौलबाट दैनिक झण्डै एक दर्जन मोटरसाइकलमा प्लाष्टिकका बोरामा कुखुराको मासुसमेत भित्रिन थालेको छ । भारततर्फबाट काटिएको कुखुराको मासु खुलेआम भित्रिरहेको कुरा इनर्वा गाउँस्थित प्रहरीलाई थाहा नभएको पनि होइन । तर, प्रहरीले कहिले पनि पक्राउ गर्दैन । बरु उल्टो छोडेवापत मासु उपहार पाउँदै आएको छ । हरेक मोटरसाइकलमा ३० देखि ४० केजी तयारी मासु प्लाष्टिकको बोरामा प्याक गरी नेपाल भित्रिने गर्दछ ।

भारतको रक्सौलमा खसीको मासु प्रतिकेजी ६ सय ५० रूपैयाँ नेपाली पर्दछ तर वीरगंजमा प्रतिकेजी एक हजार रूपैयाँमा बिक्री हुने गर्दछ । यो ठूलो रकमको फरकका कारण पनि भारतीय खसी–बोका नेपाल भित्रिने गर्दछ । यसरी खसी–बोका नेपाल भित्र्याउन सहयोग गरेवापत र पक्राउ नगरेका कारण ड्युटीमा खटिएका जवान र हवल्दारलाई ५० रूपैयाँका दरले घुस दिने काम व्यवसायीले गर्दै आएका छन् ।

प्रहरीलाई घुस मिलाउने र भारतबाट खसी–बोका एवम् तयारी कुखुराको मासु नेपाल भित्र्याउन सहयोगीको भूमिका यिनै गयासु मियां देवानले गर्दछन् । उनी आफूलाई कुखुरा व्यवसायी संघको सचिव भन्न पनि रुचाउँछन् । दिनभरि जसो इनरुवा बोर्डरमा झोला लिएर बसिरहेका हुन्छन् देवान् । उनले नै प्रहरीसँगको सेटिङ मिलाउने र कुखुरा एवम् खसी–बोकाका व्यवसायीहरूबाट रकम असुली मिलाउने काम गर्दै आएका छन् ।

जिप्रकाका एक अधिकृतका अनुसार यसरी मिलाइदिएवापत जिल्ला प्रहरी कार्यालयलाई १० केजीका दरले हप्तामा २ दिन खसीको मासु र एक दिन कुखुराको मासु, वडा प्रहरी कार्यालय विर्तालाई हप्तामा २ दिन ५ किलो खसीको मासु र एक दिन कुखुराको मासु, त्यसैगरी इनर्वागाउँस्थित प्रहरी चौकीका असईलाई हप्ताको २ दिन ३ केजी खसीको मासु र एक दिन कुखुराको मासु एवम् मन्दिर पोष्टका असईलाई हप्ताको २ दिन २ केजी खसीको मासु र एक दिन कुखुराको मासु दिने गरी मिलाउने कामसमेत हुँदै आएको थाहा भएको छ ।

शुद्धसँग नेपाली लेख्न-बोल्न समेत जान्ने, अनपढ़ व्यक्तिलाई हप्तै पिच्छे सित्तैमा मासु उपहार पाउनकै लागि पत्रकार महासंघको सदस्यता दिने, प्रेस चौतारीको मधेश प्रदेश सचिव बनाउने र एभीन्यूज़ टेलिभिजनको जिल्ला समाचारदाताको बिल्ला भिड़ाएर पत्रकारिता पेशालाई जग हंसाउने कार्य गर्दै आएका पर्साका पत्रकार नेताहरूको मौनता आफैंमा रहस्यमयी छ ।

यत्ति मात्र नभई कहिल्यै प्रकाशित नै नहुने, एक अंक संपादकीय समेत नलेख्ने, ११०% साभार गरिएका सिजिनल रुपमा प्रकाशित हुने ग्यासु मियांको पत्रिका प्रेस चौतारीसँग आवद्ध भएकै कारण प्रेस काउन्सिल नेपालले ख वर्गमा समेत वर्गीकृत गरिदिएर गैर व्यवसायिक पत्रकारितालाई प्रोत्साहन गरेको चर्चा समेत देशभरी छ ।