काठमाडौँ – जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ बारकोटेबाडामा पहिरोले पुरेर सात जनाको मृत्यु भएको छ ।
स्थानीय गणेश शाहीको घरमा पहिरो खस्दा ७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ । मृत्यु हुनेमा घरमूली ५५ वर्षीय गणेश शाही, २२ वर्षीय छोरा रमेश शाही, रमेश शाहीकी २२ वर्षीय श्रीमती पानसरा शाही, रमेश शाहीका ८ वर्षीय छोरा अनमल शाही, छोरी मिलन शाही, छिमेकी सुरेन्द्र हमाल र २५ वर्षीय विद्या शाही रहेका छन् ।
सो घटनामा स्थानीय सरस्वती हमाल र रामबहादुर हमाल घाइते भएका छन् । घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल ल्याउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।