प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

एपिएफद्वारा ठुलो परिमाणमा लागुऔषध बरामद, मकवानपुरका लामासहित दुई जना पक्राउ

२०८० पौष २४, मंगलबार १९:०७ बजे

हेटौंडा – सशस्त्र प्रहरी बल(एपिएफ)ले पर्साबाट १ सय ६८ किलो लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन्। प्रस्तावित सीमा सुरक्षा गुल्म भिखमपुरको टोलीले मंगलबार जगरनाथपुर गाउँपालिका–४ स्थित हरपुरबाट उक्त गाँजासहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बेनिघाट गाउँपालिका–४ बस्ने अन्दाजी २० वर्षीय समिर तामाङ र मकवानपुरको राक्सिराङ्ग गाउँपालिका-४ बस्ने अन्दाजी २२ वर्षीय राजु लामा छन्। उनीहरू उक्त गाडीको चालक तथा सहचालक रहेका छन्।

वीरगंजबाट ठोरी जाँदै गरेको बा ११ च ९६८६ नम्बरको बलेरो पिकअप गाडीमा फल्सबटम बनाएर १६ वटा पोकामा लुकाएर लैजाँदै गरेको गाँजा करिब १ सय ६८ किलो लागुऔषध गाँजासहित तामाङ र लामालाई पक्राउ गरिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जनाएको छ ।

उनका अनुसार उनीहरूबाट ७८ हजार ५ सय नेपाली रुपैयाँ र दुई थान मोबाइल समेत बरामद भएको छ। आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय पोखरीयामा बुझाइएको उनले बताए ।