हेटौंडा – हेटौंडा उपमहानगरपालिका क्षेत्रमा लामखुट्टेको टोकाईबाट लाग्ने डेंगु रोगका बिरामी बढ्दै गएपछि नियन्त्रण अभियान थाल्यो । उपमहानगरपालिकाले पुराना टाएर उठाउनेदेखि स्प्रे गर्ने काम गर्यो । तर, उपमहानगर क्षेत्रमा अझै डेंगु रोगका बिरामी घटेको छैन । उल्टै दिन प्रतिदिन डेंगु संक्रमित बढ्दै गएको छ ।

उपमहानगरपालिकाको जनस्वास्थ्य शाखाको अनुसार अहिले सम्म १, २, ३, ४, ५, १८ र १९ नम्बर वडामा डेंगु नियन्त्रणका लागि नगरपालिकाले नियमित रुपमा स्प्रे अभियान जारी छ । रोगको दर बढ्दै गएपछि हामीले नगर प्रहरीको सहयोगमा स्प्रे अभियानलाई एक महिनादेखि निरन्तर सञ्चाल न गरीरहेको नगर प्रमुख मीनाकुमारी लामाले बताइन् ।
डेंगु संक्रमण बृद्धि
मकवानपुरमा डेंगु संक्रमणको संख्या क्रमशः बृद्धि भइरहेको छ । बुधबार १ सय २४ जनामा डेंगु संक्रमण पुष्टि हुँदा बिहिबार ९८ जनामा पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।जिल्लामा हालसम्म १ हजार ४ सय २९ जना डेगुंका बिरामी भेटिएको छन् । जसमा पुरुष ८ सय २६ र महिला ६ सय ३ जना रहेका छन् । जिल्लामा हालसम्म डेगुंका कारण एक जनाको ज्यान गएको छ ।
९ वटै पालिकामा डेगुं
जिल्लाको १० पालिका मध्ये ९ पालिकामा डेगुंका विरामी भेटिएका छन् । जसमा सबैभन्दा बढी हेटौंडा उपमहानगरमा रहेका छन् । स्वास्थ्य कार्यालयले दिएको तथ्याङ्क अनुसार हेटौंडामा १ हजार ३ सय ५५ जना, मकवानपुरगढीमा १९, थाहा र मनहरीमा १७–१७ जना रहेका छन् । त्यस्तै भिमफेदीमा ११, बकैयामा ५, बागमतीमा २, राक्सिराङ र कैलाशमा १ जना संक्रमित भेटिएका छन् ।