हेटौंडा – देशको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने ४३ जना घाइते भएका छन् ।
दाङको घोराही उपमहानगरपालिका–७ बेसाईमा बिहीबार बेलुका मोटरसाइकलले २ वटा साइकललाई एकैसाथ ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका १५ का ३५ वर्षीय गंगा बहादुर कुँवर र साइकलयात्री स्थानीय १६ वर्षीय रितेश के.सी. रहेका छन् ।
गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको हो । घाइते भएका स्थानीय ३८ वर्षीय बसन्त चौधरी र अर्का साइकलयात्री स्थानीय १५ वर्षीय बिनोद भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ । सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा ३ त २९२२ नम्बरको मोटरसाइकलले हिजो बेलुकी पौने ९ बजे एकैसाथ दुबै साइकललाई ठक्कर दिएर पल्टिएको वडा प्रहरी कार्यालय घोराही दाङले जनाएको छ ।
त्यस्तै डोल्पाको ठुलीभेरी नगरपालिका ९ डाँगीवाडामा आज बिहान जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । स्थानीय ३५ वर्षीय पुर्ण प्रसाद डाँगीको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल दुनैमा बिहान ७ बजे मृत्यु भएको हो । सुकपानीबाट डाँगीवाडातर्फ जाँदै गरेको भे १ च १६११ नम्बरको जिप आज बिहान ५ बजे अनियन्त्रित भइ सडकबाट अन्दाजी ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
त्यस्तै बझाङको सुर्मा गाउँपालिका २ रातोपडमा गएराती ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टरमा सवार स्थानीय २७ वर्षीय नरेश बोहरा रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल बझाङमा मृत्यु भएको हो । गएराती ९ बजे सुदुर पश्चिम प्रदेश ०२-००१ त १३०८ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो । ट्याक्टर चालकलाई जिल्ला प्रहरी कार्यालय बझाङले नियन्त्रणमा लिएको छ ।
यसैगरी धादिङको गल्छी गाउँपालिका ४ चिरौदी पुलमा गएराती बस दुर्घटना हुँदा ४१ जना घाइते भएका छन् । घाइते मध्ये गुल्मीको रुरु गाउँपालिका ६ कि ३५ वर्षीया शान्ता पौडेलको अवस्था गम्भीर रहेको छ । पौडेल सहित २३ जनालाई उपचारका लागि काठमाण्डौ ल्याइएको छ भने अन्य घाइतेहरुको अम्बे भरोषा अस्पताल गल्छी र आदमघाट अस्पतालमा उपचार भइरहेको छ । काठमाण्डौबाट रौतहटतर्फ जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९७२९ नम्बरको बस गएराती २ बजे अनियन्त्रित भइ सडकको भित्तामा ठोकिएको प्रहरी चौकी बैरेनीले जनाएको छ ।