प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

भोट दिएर फकिर्ने यात्रु ठगिदै, प्रशासन निन्द्रामा मस्त, नेता चुनावमा व्यस्त

२०७९ जेठ ४, बुधबार ०८:१९ बजे

हेटौंडा – यही बैशाख ३० गते स्थानीय तह निर्वाचनको लागि काठमाडौं लगायत विभिन्न स्थानबाट मानिसहरु मतदान गर्न घर आएका थिए । मतदानपछि उनिहरु कामकाजको लागि फकिर्न क्रम जारी छ ।तर, मकवानपुरका जनतालाई काठमाडौंबाट आउन जति सहज थियो । फर्कन उत्ति सहज छैन ।

मकवानपुरबाट काठमाडौं जाने सुमो व्यवसायीहरुले कृत्रिम अभाव श्रृजना गरि मनलाग्दी भाडा असुल्न थालेका छन् । स्थानीय चुनावमा जनप्रतिनिधि चुन्न आएकाहरु पुनः कामको लागि काठमाडौं लगायत स्थानमा फर्कने यात्रुलाई सुमो व्यवसायीहरुले मनलाग्दी भाडा असुल्न थालेका हुन् ।

चुनावअघि हेटौंडाबाट भिमफेदी हुँदै काठमाडौंसम्मको सुमोको भाडादर ६०० रुपैयाँ थियो । पेट्रोलियम पदार्थको भाउँ बढेसंगै भाडादर करिब ६३० पुगेको छ ।  सुमो व्यवसायीहरुले १ हजारदेखि १५ सयसम्म भाडा लिने गरेको यात्रुहरु बताउँछन् ।

मकवानपुरगढी गाउँपालिका वडा नं. २ की उर्मिला तिमल्सिनाले आफु हेटौंडा आउँदा ६०० रुपैयाँ तिरेर आएको र काठमाडौं जादा १ हजार रुपैया तिर्नु परेको सुनाइन् ।त्यस्तै काभ्रेको बनेपाबाट हेटौंडामा मामा घर आएका सुप्रिम दाहालले पनि घर फर्किनको लागि १ हजार रुपैयाँको टिकट काटेको बताए ।

हेटौंडाका सुमो व्यवसायीहरुले यात्रुको चाप बढ्ने देखेपछि कृतिम अभाव श्रृजना गरी आफुखुशी भाडा लिने गरेको यात्रुहरुले गुनासो पोखे ।सुमो व्यवसायीहरु यात्रुको भनाईलाई अस्वाकार गर्छन । काठमाडौंबाट रित्तो सुमो फकिर्नु परेको कारण यात्रुहरुसंग केही थप रकम लिनु परेको उनिहरुको भनाई छ ।

यात्रु ठगिनु परेको विषयमा स्थानीय प्रशासन भने मौन छ । न रोक्न सक्छ, कारवाही नै गर्न सक्छ ।

मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रैले नियन्त्रण तथा अनुगमनको लागि ट्राफिक प्रहरी परिचालन गर्ने बताए । यदि तोकिएभन्दा बढी भाडा असुली गरेको पाइएमा सुमो व्यवसायीहरुको प्रतिनिधिसंग छलफल गर्ने बताए ।

सुमो व्यवसायीले यात्रुलाई ठगि गर्ने गरेको आज मात्र होइन । चार्डपर्व र यात्रुको भिड हुने समयमा सुमो व्यवसायीले मनलाग्दी भाडा लिने गरेको पाइन्छ । यही कुरालाई ध्यानमा राखेर स्थानीय प्रशासनले कारवाही अगाडि बढाउनु पर्ने देखिन्छ ।