हेटौंडा – बागमती प्रदेशमा विभिन्न घटनमा परी ५ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । चितवन, धादिङ, दोलखा र सिन्धुलीमा गरी ५ जनाको मृत्यु र एक बेपत्ता भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
चितवनको भरतपुर महानगरपालिका–११ नवजिवन टोलभित्री सडकमा पदमपुरबाट भरतपुर आउदै गरेको ना ४ त६२१५ नम्बरको अगाडिको ईन्जिन मात्र रहेको ट्याक्टरको टायर पन्चट भई अनियन्त्रित हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनकै कालिका नगरपालिका–५ बस्ने २८ बर्षीय सुदिप महतो रहेका छन् । सोहि ट्याक्टरको पछाडिको टायरले किच्दा उनको ज्यान गएको प्रहरीले जनाएको छ ।
त्यस्तै भरतपुर महानगरपालिका वडा नं.१७ गांजिपुरमा स्याङ्जा अर्जुनचौपारी नगरपालिका ९ बस्ने गुरु प्रसाद अर्यालको शव नारायणी नदीको किनारमा फेला परेको छ । शव पोष्टमाटमका लागि भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
उता धादिङमा गत मंसिर २१ गतेदेखि बेपत्ता भएकी सिद्धलेख गाउँपालिका–२ बस्ने ७५ की देउकी लम्साल पण्डित मृत भेटिएकी छन् । प्रहरीका अनुसार उनको शव शनिबार सिद्धलेख गाउँपालिका–४ स्थित धारापानी खोल्सीमा सडेको अवस्थामा मृत भेटिएको हो ।
त्यस्तै धादिङकै बेनिघाट रोराङ गाउँपालिका–९ बस्ने १९ बर्षीय रञ्जन चेपाङ त्रिशुली नदिमा पौडी खेल्ने क्रममा बेपत्ता भएका छन् । उनीसंगै पौडी खेल्न गएका चितवन कालिका नगरपालिका–६ बस्ने १९ बर्षीय बिकाश पाण्डे र
१६ बर्षीया नेलिना प्रजालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी दोलखाको विगु गाउँपालिका–४ को विगु स्वास्थ्य चौकीको कम्पाउण्डमा लड्दा गौरीशंकर गाउँपालिका–४ बस्ने ७० बर्षीया करलमु शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी विरामी भइए बिगु सिंगटीमा उपचारको क्रममा स्वास्थ्य चाकीकै अम्पाउण्डमा लड्न पुगेकी थिइन् । थप उचारको क्रममा धुलिखेल शाखा अस्पताल दोलखामा ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उता सिन्धुलीको कमलामाई नगरपालिका–५ मधुटारस्थित भित्री सडकखण्डमा सिलामेबाट सिन्धुली आउदै गरेको ना. ५ त.९५१० नम्बरको ट्याक्टरको ठक्करबाट स्थानीय ५ बर्षीया अरुणा श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनमा गम्भीर घाइते भएकी श्रेष्ठको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।