हेटौंडा – चौथों स्थानीय तह सहिद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज (आइतबार) दुई खेल हुँदैछ ।
हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा पहिलो खेल विहान ८ः३० बजे फ्रेन्ड्स र एपीएफ क्लबविच हुने छ भने दोस्रो खेल दिउँसो ३ बजे खुमलटार र नेपाल पुलिस क्लबबिच हुनेछ ।
फ्रेन्ड्स र एपीएफ क्लबविचको खेल शनिबार अपराह्न ४ बजेको लागि तय भएको थियो । खेल बर्षाका कारण स्थगित भएपछि आज (आइतबार) विहान गराइएको हो ।
आजको खेलमा जित हात पार्ने दुबै टोली प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गर्नेछ । सेमिफाइनल प्रवेशको लागि पहिलो खेलमा जित निकाल्ने टोलीले २३ गते त्रिभुवन आर्मी क्बलसंग भिड्ने छ । त्यस्तै दोस्रो खेलमा विजयी हुने टोलीले २४ गते मनाङ्ग मस्र्याङ्दी क्लबको सामना गर्नेछ ।
मकवानपुरको १० पालिकाको सहयोग र फुटबल संघ मकवानपुरको आयोजना भएको प्रतियोगितामा विजेता टोलिले शिल्ड,मेडल र प्रमाणपत्रसहित १५ लाख र उपविजेता टोलिले १० लाख प्राप्त गर्ने छन् ।
विधागत उत्कृट हुने प्रशिक्षक सहित ६ खेलाडीले ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई बुलेट बाईक प्राप्त गर्नेछन् ।
प्रतियोगितामा एडिभिजन, मोफसल र विदेशी सहित १२ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल जेठ ३० गते हुने छ ।