हेटौंडा – बागमती प्रदेशमा नेपाली कांग्रेसका ६ जना मन्त्रीहरुले आज संयुक्त रुपमा राजिनामा बुझाएका छन् । संघीय सरकारमा नयाँ गठवन्धनको सरकार निर्माण भएसंगै बागमती प्रदेशमा पनि कांग्रेस सरकारबाट बाहिरिएको हो ।
कांग्रेसका छ जना मन्त्रीहरुले आज प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई राजिनामा बुझाएका हुन् । शालिकराम जम्कट्टेल नेतृत्वको १२ सदस्यीय मन्त्रीपरिषदमा कांग्रेसबाट ६ जना मन्त्री थिए । सत्ता समीकरणमा फेरबदल आएसँगै कांग्रेसले मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।
कांग्रेसबाट आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामा, वन तथा वातावरणमन्त्री मसिना खड्का, उर्जा खानेपानी तथा सिंचाईमन्त्री तिर्थबहादुर लामा, उद्योग वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकार र संस्कृति पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जन र स्वास्थ्यमन्त्री उत्तम जोशीले सयुत्तरुपमा मुख्यमन्त्रीलाई राजीनामा बुझाएका हुन् ।
कांग्रेसले सरकार छाडेसंगै एमाले सहितको नयाँ सरकार गठनका लागि बाटो खुलेको छ ।अब केही दिनमै एमाले, माओवादी सहितको गठबन्धनको नयाँ सरकार बन्नेछ ।