प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हिमालयन शेर्पा मकवानपुरको गोल्डकपको अन्तिम चारमा, सेमिफाइनल खेल भोलिदेखि

२०७९ फाल्गुन ६, शनिबार १३:४५ बजे

हेटौंडा – हिमालयन शेर्पा क्लव हेटौंडामा जारी पाँचौ स्थानीय तह शहिद स्मृति गोल्डकप फुटबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ ।

हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा शनिबार भएको प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा शेर्पाले फ्रेण्डस् क्लबलाई २–१ गोलले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।

शेर्पाको जितमा अमृत श्रेष्ठ र विश्वास श्रेष्ठले एकएक गोल गरे । फ्रेण्ड्सका एन्जल महर्जनले एक गोल फर्काएका थिए ।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको तीनै गोल दोस्रो हाफमा भएको थियो ।

खेलको ४८ औँ मिनेटमा अमृत श्रेष्ठको गोलबाट हिमालयन शेर्पाले अग्रता लिएको थियो । खेलको ६८ औँ मिनेटमा फ्रेण्ड्सका एन्जल महर्जनले गोल गर्दै १–१ को बराबरीमा ल्याए । 

खेलको ८० औँ मिनेटमा विश्वास श्रेष्ठले गोल गर्दै हिमालयन शेर्पालाई पुनः अग्रता दिलाए । बाँकी समयमा दुबै टोलीबाट थप गोल हुन नसकेपछि शेर्पाले जित हात पार्यो ।

खेलको म्यानअफ द म्याच हिमालयन शेर्पाका क्याप्टेन विश्वास श्रेष्ठ घोषित भए । उनले नगद १० हजार प्राप्त गरे ।

जितसंगै शेर्पा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ, भने प्रतियोगिताको सेमिफाइनल समिकरण समेत पुरा भएको छ ।

यसअघिको खेलमा जित निकाल्दै एभिनियर, मनाङ मस्याङ्दी र शसस्त्र प्रहरी बल(एपिएफ) क्लब प्रतियोगिताको सेमिफाइनल प्रवेश गरिसकेको छ ।

प्रतियोगितामा भोली आइतबारदेखि सेमिफाइनलका खेलहरु हुनेछ । पहिलो सेमिफाइनल खेल भोली दिउँसो ३ बजेदेखि विभागिय टोली एपिएफ र मनाङ मस्याङदी क्बलबीच हुनेछ ।

त्यस्तै प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल खेल फागुन ८ गते सोमबार एभिनियर एफसी र हिमालयन शेर्पाबीच हुनेछ । खेल दिउँसो ३ बजे हुनेछ ।

जिल्ला फुटबल संघ मकवानपुरको आयोजना भएको प्रतियोगिताको फाइनल खेल फागुन १० गते हुनेछ ।

प्रतियोगिताको बिजेता टोलीले ट्रफिसहित नगद १५ लाख प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले ट्रफिसहित नगद १० लाख प्राप्त गर्नेछ ।

प्रतियोगिताको सर्बोउत्कृट खेलाडीले रोयल इन्फिल्ड बुलेट बाईक हात पार्नेछन् ।त्यस्तै विधागत उत्कृट हुने खेलाडी ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् ।