काठमाडौं – मकवानपुर क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य महेश वर्तौलाले हेटौंडा–काठमाडौं जोड्ने छोटो दुरीको मार्ग मातातिर्थ–चखेल सडकको काम चाँडो सक्न निर्देशन दिएका छन्। सांसद वर्तौलाले बुधबार नेकपा (एमाले) संसदीय दलको कार्यालयमा बोलाएर निर्माण व्यवसायी शिव चौलागाईंलाई निर्देशन दिएका हुन् ।
उनले इन्द्रसरोवर गाउँपालिका ४ मा निर्माणाधिन वीर फाखेल मैत्री पार्क निर्माणको काम तिव्रगतिमा गरेर सम्पन्न गर्न पनि निर्देशन दिए । दुबै योजना चौलागाईंले निर्माण गरिरहेका छन् । सडक तथा पार्क निर्माणको काम तोकिएको समय नसकिएपछि पटकपटक म्याद थप गरिदै आएको थियो ।
सडक निर्माणको काम सम्पन्न नहुँदा सवारी चालक तथा यात्रुहरु जोखिमपूर्ण तरिकाले यात्रा गर्न बाध्य भएका छन् । निर्माण व्यवसायी चौलागाईंले कार्यतालिका बनाएर थप गरिएको समय भित्रै सडक र पार्क निर्माण सम्पन्न गर्ने प्रतिवद्धता ब्यक्त गरे ।
तत्कालिन बागमती प्रदेशको मुख्यमन्त्री डोरमणी पौडेलको पालमा हेटौंडा काठमाडौंको छोटो दुरीको मार्ग भैंसे–भीमफेदी–कुलेखानी–फाखेल–काठमाडौंको मर्मत तथा निर्माणको काम सुरु गरिएको थियो । भीमफेदी–कुलेखानी कुलेखानी सडक खण्ड निर्माणको काम सम्पन्न भएपनि भैंसे–भीमफेदी, कुलेखानी–फाखेल–काठमाडौंको काम भने बर्षौँ बित्दा समेत सम्पन्न हुन सकेको छैन ।