प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कारबाट रासस अध्यक्ष झालाई प्रदान गरिने

२०८० बैशाख ३०, शनिबार १२:२९ बजे

रौतहट – नेपाल पत्रकार महासंघ रौतहट शाखाले स्थापना तथा व्यवस्थापन गरेको मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कारू २०८० बाट राष्ट्रिय समाचार समिति राससका अध्यक्ष धर्मेन्द्र झा पुरस्कृत हुने भएका छन् ।

रौतहटबाट प्रसारण हुने रेडियो मधेश मसला १०६=४ मेगाहर्जका स्टेशन म्यानेजर तथा जनकपुर टुडे पत्रिकाका संवाददाता पत्रकार मनोजकुमार चौधरीको कोरोना संक्रमणका कारण ४१ बर्षको अल्पायुमै नारायणी अस्पताल बिरगंजमा उपचारको क्रममा २०७८ बैशाख २८ गते निधन भएको थियो ।

उनको निधन पश्चात नेपाल पत्रकार महासंघ रौतहट शाखाले पत्रकार चौधरीको सम्झनामा "मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार"को स्थापना गरेको थियो । यस बर्षको "मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार" आगामी २०८० जेठ २० गते शनिबारका दिन प्रदान गरिने भएकाे छ ।

पच्चीस हजार रूपैयाँ पुरस्कार राशी रहेको सो पुरस्कार राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झालाई दिइने नेपाल पत्रकार महासंघ रौतहटका सचिव मदन ठाकुर (धनन्जय ) द्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

गतवर्ष उक्त पुरस्कार बाट गोरखापत्रका नायव कार्यकारी सम्पादक कुमार विवेकानन्द मिश्रलाई प्रदान गरिएएको नेपाल पत्रकार महासंघ रौतहटका कोषाअध्यक्ष धर्मेन्द्र साहले जानकारी गराएका हुन् ।