हेटौंडा – स्थानीय तह निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको मितिले ३० दिनभित्र निर्वाचन खर्च विबरण पेश गर्नुपर्ने कानुनी व्यवस्था छ । त्यो कानुनी व्यवस्था उल्लङ्घन गर्ने मकवानपुरका १ हजार ७ सय १० जना उम्मेदवारलाई निर्वाचन आयोगले जरिवाना तोकेको छ ।
मकवानपुरको १० पालिका प्रमुख/उपप्रमुख र १ सय २ वडा वडाध्यक्ष/सदस्य पदमा चुनाव लडेर खर्च विवरण पेश नगर्ने, ढिलो पेश गर्ने र चित्तबुझ्दो स्पष्टिकरण पेश नगर्ने उम्मेदवारलाई आयोगले जरिवाना तोकेको हो । उनीहरुलाई आयोगले निर्वाचन आयोग ऐन २०७३ को दफा २६ को उपदफा (१) बमोजिम खर्चको विवरण पेस नगर्ने उम्मेदवारलाई कारबाही गरिएको जनाएको छ ।
७७ प्रतिशत बढी जनप्रतिनिधिलाई जरिवाना
मकवानपुरका ७७ दशमलव १७ प्रतिशत जनप्रतिनिधि जरिवानामा परेका छन् । निर्वाचन आयोगका अनुुसार पालिका प्रमुख÷उपप्रमुख, वडाध्यक्ष र वडासदस्य पदमा निर्वाचित भएका ५ सय ३० मध्ये ४ सय ९ जनप्रतिनिधि जरिवानामा परेका हुन् । पालिका प्रमुख दुई, उपप्रमुख दुई, वडाध्यक्ष ६३ र बाँकी वडासदस्य ३ सय ४२ रहेका छन् ।
कुन पालिकाको कति ?
इन्द्रसरोवर गाउँपालिकामा सबै
इन्द्रसरोवर गाउँपालिकामा उम्मेदवारी दिएका ८९ जना नै जरिवानामा परेका छन् । यहाँ निर्वाचित भएका २७ र पराजित भएका ६२ उम्मेदवार जरिवानामा परेका हुन् । गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनी, उपाध्यक्ष उमाकुमारी लामा, वडा नं.१ का वडाध्यक्ष सुवास थापामगर, २ का सुमन श्रेष्ठ, ३ का प्रताप भोम्जन, ४ का चन्द्रकुमार बल र ५ का दुतराज तितुङ र २० वडासदस्य रहेका छन् ।
हेटौंडा उपमहानगरमा सबैभन्दा धेरै
जरिवानाको सुचिमा सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिकाका २ सय ८५ उम्मेदवार रहेका छन् । जसमध्ये पराजित २ सय ४२ रहेका छन् भने निर्वाचित ९ वडाध्यक्ष सहित ४३ जना जनप्रतिनिधि रहेका छन् ।
वडाअध्यक्षमा हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता समेत रहेका १ नम्बर वडाका सविन न्यौपाने, ३ का ढलकबहादुर थापा, ६ का विष्णुबहादुर दाहाल, ७ का दामोदर गौतम, ८ का रामकृष्ण थापा, १३ का पेम्बा लामा, १६ का रामकृष्ण कोइराला, १७ का उद्धव सत्याल र १८ का अनिलकुमार बानियाँ जरिवानामा परेका हुन् ।
१९ वडा रहेको हेटौंडा उपमहानगरमा ९७ पदका लागि ३ सय ८७ जनाले उम्मेदवारी दिएका थिए । जसमा ५४ निर्वाचित सहित १०२ उम्मेदवारले मात्रै खर्चको विवरण पेश गरेका छन् ।
थाहा नगरपालिका
यहाँ उम्मेदवारी दिएका २ सय ४० मध्ये ३६ जनाले मात्रै खर्च विवरण पेश गरेका छन् भने २ सय ४ जनाले बुझाएका छैनन् । १२ वडा रहेका यस नगरमा ६२ जनप्रतिनिधिमध्ये ५ वडाध्यक्ष सहित ४९ जना जरिवानामा परेका छन् । वडाध्यक्ष वडा नं. १ का हेरमान गोपाली, ५ का विष्णुबहादुर गुरुङ, ६ का राजेन्द्रभक्त श्रेष्ठ, ८ का हेमकुमार थिङ र १० का हीराबहादुर गमाल रहेका छन् । त्यस्तै १२ वडाका ४४ जना वडासदस्य रहेका छन् भने बिवरण बुझाउने जनप्रतिनिधि १३ जना मात्रै छन् ।
बकैया गाउँपालिका
क्षेत्रफलको आधारमा जिल्लाको सबैभन्दा ठुलो यस गाउँपालिकामा २ सय २४ जना जरिवानामा परेका छन् । जसमध्ये ९ वडाध्यक्ष सहित ५७ जना निर्वाचित उम्मेदवार रहेका छन् । वडा नं.१ का आशीष तितुङ, ३ का भुवनसिं घलान, ४ का राजन दंगाल, ५ का लक्ष्मी जिम्बा, ६ का फुलबहादुर भोम्जन, ९ का टंकध्वज लोप्चन, १० का कमलाकुमारी वाइवा, ११ का गोपालबहादुर नेसुर र १२ का ज्ञानेन्द्र बजागाईं जरिवानामा परेका हुन् । १२ वडा रहेको बकैयामा २ सय ३४ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका थिए ।
कैलाश गाउँपालिका
१० वडा रहेको कैलाशमा १७३ जनाले उम्मेदवारी दिएका थिए । यहाँ १ सय ६२ उम्मेदवार जरिवानामा परेका छन् । जसमध्ये ८ वडाध्यक्ष ४७ जना जनप्रतिनिधि छन् । जरिवानामा वडा नं.१ का वडाध्यक्ष तेजबहादुर भ्लोन, २ का राजेन्द्र घिसिङ, ५ का छेकु लामा, ६ का रामबहादुर गोम्बा, ७ का उसादकुमार भोलन, ८ का आशिष प्रजा, ९ का भुवनसिं घलान र १० का सूर्यबहादुर भ्लोन परेका हुन् ।
राक्सिराङ गाउँपालिका
यहाँ निर्वाचित ७ वडाध्यक्ष र ३५ वडासदस्य सहित १ सय ४४ उम्मेदवार जरिवानामा परेका छन् । वडा नं.१ का बाबीराम मोक्तान, २ का बुद्धराम मोक्तान, ३ का उत्तम वाईवा, ४ का संजय कोइराला, ५ का हरिबहादुर प्रजा, ७ का रामबहादुर प्रजा र ९ का रामकुमार वाइबा थिङ जरिवानामा परेका हुन् । ९ वडा रहेको पालिकामा १ सय ५१ जनाले उम्मेदवारी दिएका थिए ।
मनहरी गाउँपालिका
यस गाउँपालिकामा कुल २ सय २१ मध्ये २ सय १२ उम्मेदवार जरिवानामा परेका छन् । जसमध्ये निर्वाचित ५ वडाध्यक्ष र ३४ वडासदस्य सहित ३९ जनप्रतिनिधि जरिवानाको सुचिमा छन् । वडा नं.१ का वडाध्यक्ष शिवप्रसाद खनाल, ६ का युवराज थपलिया, ७ का ठाकुराम तितुङ, ८ का नारायण उप्रेती र ९ का राजकुमार श्रेष्ठ जरिवानामा परेका हुन् ।
भीमफेदी गाउँपालिका
जरिवानाको सुचिमा भीमफेदीका अध्यक्ष हिदम लामा, ६ वडाध्यक्ष र २८ वडासदस्य सहित १ सय २० उम्मेदवार रहेका छन् । वडाध्यक्ष वडा नं.२ का काशिराम बज्यु, ४ का सागर पाण्डे, ५ का जहरसिं घलान, ७ का मित्रबन्धुु सिंजाली र ९ का बिष्णुबहादुर लामा जरिवानामा परेका हुन् । यस गाउँपालिकाको ९ वटा वडामा १ सय ३५ जनाले उम्मेदवारी दिएका थिए ।
बागमती गाउँपालिका
यस पालिकाका उपाध्यक्ष फडिन्द्र तिमल्सिना, वडा नं. ६ का वडाध्यक्ष टेकबहादुर डिम्डुङ, ७ का उत्तरबहादुर भोलन, ८ का इन्द्रमणि तिमल्सिना, ९ का पुनराम घलान र वडासदस्य ३६ सहित १ सय ५४ उम्मेदवार जरिवानामा परेका छन् । ९ वडा रहेको पालिकामा १ सय ३५ जनाले उम्मेदवारी दिएका थिए ।
मकवानपुरगढी गाउँपालिका
मकवानपुरगढीमा निर्वाचित ४ वडाध्यक्ष र २४ वडासदस्य सहित १ सय १६ जना उम्मेदवार जरिवानामा परेका छन् । वडा नं. २ का वडाअध्यक्ष बखानसिं पाख्रिन, ३ का भागवत घिमिरे, ४ का अर्जुनप्रसाद तिमल्सिना, ५ का दीपेश दाहाल र ७ का सूर्यबहादुर रुम्बा जरिवानामा परेका हुन् । ८ वडा रहेको पालिकामा १ सय ३४ जनाले उम्मेदवारी दिएका थिए ।
जरिवाना कसलाई कति ?
आयोगले गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकाका उम्मेदवारलाई पद अनुसार फरक–फरक जरिवाना तोकेको छ । गाउँपालिका अध्यक्ष/उपाध्यक्षलाई ३ लाख ५० हजार, नगरपालिका प्रमुख/उपप्रमुखलाई ४ लाख ५० हजार र उमहानगरपालिका प्रमुख/उपप्रमुखलाई ५ लाख ५० हजार जरिबाना तोकेको छ ।
त्यस्तै गाउँपालिका, नगरपालिका र उमहानगरपालिका वडाअध्यक्ष/वडासदस्यलाई क्रमशः १ लाख ५० हजार, २ लाख र २ लाख ५० हजार जरिवाना उल्लेख गरेको छ ।
कति जरिवाना ?
आयोगले जिल्लाका १ हजार ७ सय १० उम्मेदवारलाई २९ करोड ३७ लाख ९५ हजार जरिवाना लगाएको छ । जसमा ८ वटा गाउँपालिकाका ५७ अध्यक्ष/उपाध्यक्षलाई १ करोड ९९ लाख ५० हजार, नगरपालिका प्रमुख/उपप्रमुखलाई २२ लाख ५० हजार र उपमहानगरका प्रमुख/उपप्रमुखलाई ७१ लाख ५० हजार लगाएको छ । त्यस्तै गाउँपालिका, नगरापालिका र उपमहानगरका क्रमशः १६ करोड ४६ लाख, ३ करोड ९८ लाख र ६ करोड ८० लाख जरिवाना लगाएको छ ।
नतिरे के हुन्छ ?
निर्वाचन आयोग ऐन २०७३ को दफा २६ को उपदफा (३) मा उपदफा (२) बमोजिम भएको जरिबाना छ महिनासम्म नबुझाउने राजनीतिक दल वा उम्मेदवारलाई आयोगले तत्कालैदेखि लागू हुनेगरी बढीमा छ बर्षसम्म कुनैपनि निर्वाचनमा भाग लिन रोक लगाउन वा उम्मेदवार हुन अयोग्य घोषित गर्न सक्नेछ ।
उपदफा (४) मा उपदफा (१) वा (२) बमोजिम जरिवाना गर्नु वा उपदफा (३) बमोजिम निर्णय गर्नुअघि आयोगले सम्बन्धित राजनीतिक दल वा व्यक्तिलाई आफ्नो सफाई पेश गर्ने मनासिब मौका दिनु पर्नेछ । उपदफा (५) मा आयोगले उपदफा (३) बमोजिम निर्णय गरेकोमा त्यस्तो व्यक्ति निर्वाचित भएको रहेछ भने निजको निर्वाचन स्वतः बदर हुनेछ ।