हेटौंडा – निर्वाचन अधिकृतको कार्यालय, बागमती प्रदेशले राष्ट्रियसभा सदस्य पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । शुक्रबार प्रकाशिन नामावली अनुसार यस प्रदेशबाट उम्मेदवारी मनोनयनपत्र दर्ता गराएका कुनै पनि उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छैनन् ।
राष्ट्रियसभा सदस्य पदका लागि उम्मेदवारी मनोनयनपत्र दर्ता गराएका १५ जना उम्मेदवारको उम्मेदवारी कायम भएको प्रदेश निर्वाचन कार्यालयका निमित्त निर्वाचन अधिकारी ताराप्रसाद आचार्यले जानकारी लिए । सोमबार निर्वाचन अधिकृतको कार्यालय, बागमती प्रदेशमा महिला कोटामा ४ राजनीतिक दल, दलिततर्फ ३ राजनीतिक दल, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक कोटामा ४ राजनीतिक दल र अन्य कोटामा ४ राजनीतिक दलका १५ जनाको उम्मेदवारी परेको थियो ।
सत्ता गठबन्धनबाट कांग्रेसका विष्णुदेवी पुडाशैनी र जीतजंग बस्नेत, माओवादीका श्रीकृष्ण अधिकारी र नेकपा एसका घनश्याम रिजाल विश्कर्माले उम्मेदवार बनेका छन् । प्रमुख प्रतिपक्ष दल एमालेको तर्फबाट त्रिलोचन निर्मल पौडेल, ध्रुबराज विश्कर्मा, रोच कुमारी चौलागाई र विबेक देवकोटाले उम्मेदवार कायम भएको छ। त्यस्तै राप्रपाबाट हेमजंग गुरुङ, पूर्ण बहादुर विश्वकर्मा, बालकुमारी ढल्लाकोटी, भरतमणि भट्ट र नेपाल मजदुर किसान पार्टीबाट श्रीकृष्ण महर्जन, कृष्णलक्ष्मी दुवाल, संगीता नेपाली र हिमालयश्वर मुल उम्मेदवार बनेका छन् ।
बागमती प्रदेश तर्फबाट राष्ट्रिय सभा सदस्य बनेका एमालेबाट दिलकुमारी रावल र रामचन्द्र राई, एकीकृत समाजवादीका सिंगबहादुर विश्वकर्मा र सांसद खिमलाल देवकोटाको पद रिक्त हुँदैछ । जस अनुसार निर्वाचनमा महिला, अपाङ्गता, अल्पसङ्ख्यक, दलित र अन्य समूहका १–१ सिटका लागि प्रतिस्पर्धा हुनेछ ।
राष्ट्रिय सभा सदस्यका लागि माघ ११ गते निर्वाचन हुँदैछ । बागमती प्रदेशमा प्रदेश सभा सदस्यको मतभार पाँच हजार ३८० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको मतभार चार हजार ५०३ गरी जम्मा १० हजार ३३३ मतभार कायम भएको निर्वाचन आयोगले जनाएको छ ।