हेटौंडा – हेटौंडा उपमहानगरपालिकाले बनेलधाप कालोपानी खानेपाली ट्याङ्कीको उद्घाटन गरी हेटौंडा खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गरेको छ । शनिबार एक कार्यक्रम आयोजना गरि उपमहानगरकी मेयर मिना कुमारी लामाले हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टलाई सो खानेपानी आयोजनाको स्वामित्व हस्तान्तरण गरेका हुन् ।
हेटौंडा उपमहानगरपालिका १४ का बनेलधाप र कालोपानीकालाई खानेपानी उपलब्ध गराउने उदेश्यले जिल्ला समन्वय समिति र खानेपानी व्यवस्थापन बोर्डको २ करोड ४० लाख रुपियाँको लागतमा ३ लाख लिटरको उक्त टंकी निर्माण गरिएको हो । गाउँको घरघरमा खानेपानी पु¥याउन पाईप लाइन समेत बिस्तार गरिएको बताईएको छ ।
यससंगै त्यहाँका स्थानीयले उपमहानगरले उपलब्ध गराउँदै आएको मासिक १० हजार लिटर खानेपानी उपभोग गर्न पाउने भएका छन् । यसअघि त्यहाँ उपभोक्ता स्वच्छ खानेपानीसंगै उक्त छुट सेवाबाट समेत बञ्चित थिए । यस खानेपानी ट्याङ्कीबाट बनेलधाप र कालापानीका ४२५ घरपरिवार लाभान्वित हुने हेटौंडा १४ का वडा अध्यक्ष दिपक खड्काले बताए ।
बनेलधाप कालोपानी खानेपानी योजना उद्घाटन तथा योजना हस्तान्तरण कार्यक्रममा हेटौंडा–९ का वडा अध्यक्ष शुकराम केसी, १३ का वडा अध्यक्ष पेम्बा लामा, बोर्डका कार्यकारी निर्देशक बिष्णुप्रसाद सापकोटा, बनेलधाप कालोपानी खानेपानी उपभोक्ता समिति पुर्व अध्यक्ष मोहनसिं मोक्तान लगाएतको आतिथ्यता रहेको थियो ।