मकवानपुर – ललितपुरमा आज पुस २३ गतेदेखि २८ गतेसम्म हुने तुल्सीलाल स्मृति राष्ट्रिय क्लव टिम बुद्धिचाल च्याम्पियनसिप–२०८० को लागि मकवानपुरको टोलीले सहभागीता जनाउँदैछ । प्रतियोगितामा भाग लिन जिल्ला बुद्धिचाल संघ अध्यक्ष मनोज श्रेष्ठको व्यवस्थापनमा ५ सदस्यीय टोली प्रस्थान गरिसकेका छन् ।
मकवानपुरे टोलीले कृष्ण थापाको नेतृत्व(कप्तानी)मा सिंगेस्वर दास, सुदेन ट्वी ट्वी, अनुष्न गौतम, जियोन श्रेष्ठ र म्यानेजर सुरेन्द्र बहादुर कर्माचार्य प्रतियोगितामा भाग लिन प्रस्थान गरिसकेको अध्यक्ष मनोज श्रेष्ठले जानकारी दिए ।
लिग कम नकआउट आधारमा हुने प्रतियोगिताको विजेता टोलीले २ लाख, दोस्रो टोलीले १ लाख २० हजार, तेस्रोले ६० हजार र चौथो हुने टोलीले ४० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रत्येक बोर्डमा प्रथम हुने ४ जना खेलाडीले समान १० हजार रुपैयाँ पुरस्कार पाउने आयोजको जनाएको छ । प्रतियोगितामा कुल ४ लाख ७० हजार रुपैयाँ पुरस्कार रहेको प्रदान गरिने नेपाल बुद्धिचाल संघका महासचिब धरम बहादुर लामाले जानकारी दिए ।
विगत भन्दा फरक शैलीमा खेलाइने प्रतियोगिताका प्रत्येक टिममा वैकल्पिक सहित ५ जना खेलाडी रहनेछन् । जस अनुसार प्रतियोगिता संरचनामा खेलाडीहरुलाई ए,बी,सी र डी गरिन चार समूह विभाजन गरिएको छ ।
समूह ‘ए’ मा टाइटल प्राप्त खेलाडी, पूर्व नेपाल च्याम्पियन, राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट दश स्थान प्राप्त खेलाडी तथा १९०० रेटिङ माथिका खेलाडी छन् । समूह ‘बी’ मा १९०० रेटिङ मुनिका खेलाडी, समूह ‘सी’ मा यु २० र समूह ‘डी’ मा यु १६ वा महिला खेलाडी रहने छन् । वैकल्पिक खेलाडीमा जुन समुहको खेलाडी हो । त्यही ठाउँमा प्रतिस्पर्धा गर्न पाउने प्रावधान रहेको बताइएको छ ।
प्रतियोगितामा साविक विजेता थापाथली चेस पार्क क्लब, मकवानपुर जिल्ला बुद्धिचाल संघ, ललितपुर स्पोर्ट्स क्लब, गोल्डेन गेट क्लब, लुम्बिनी इभेन्ट मेनेज्मेन्ट टिम, सुदुर पश्चिम खेलकुद विकास परिषद, दोलखा चेस होम, दोलखा बुद्धिचाल संघ, गण्डकी प्रदेश बुद्धिचाल संघ, कास्की जिल्ला बुद्धिचाल संघ, ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका, पुल्चोक क्याम्पस, ललितपुर जिल्ला बुद्धिचाल संघ गरि २० टोलीको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उदघाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले र पुरस्कार वितरण प्रमुख प्रतिपक्ष दलका नेता तथा पूर्व प्रधानमन्त्री केपी ओली शर्माले गर्ने बताइएको छ।