प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा ट्राफिक कारबाहीबाट तीन करोड ६९ लाख राजस्व सङ्कलन

२०८० श्रावण ४, बिहीबार १०:२४ बजे

हेटौंडा – मकवानपुरमा विभिन्न ट्राफिक कारबाहीबाट तीन करोड ६९ लाख ६७ हजार राजस्व सङ्कलन भएको छ । आर्थिक बर्ष २०७९/८० को साउनदेखि असार मसान्तको अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले ट्राफिक कारबाहीबाट सो राजस्व रकम सङ्कलन गरेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक वसन्त आचार्यका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनको कारबाहीबाट सो राजस्व असुल भएको हो । ट्रक, बस, कार, जिप, भ्यान, ट्याक्टर, मोटरसाईकल, टेम्पो तथा अन्य सहित ४७ हजार ८९९ सवारी कार्वाहीबाट सो राजस्व संकलन गरिएको प्रमुख आचार्यले बताए ।

आव २०७९/८० को तथ्याङ्क अनुसार ९ हजार ३०९ ट्रक कार्वाहीबाट ८१ लाख ५७ हजार, ५ हजार ३९३ बस कार्वाहीबाट ४३ लाख ९२ हजार ५ सय, १० हजार ११२ कार, जिप र भ्यान कार्वाहीबाट ७६ लाख ८४ हजार, १ हजार ६४४ ट्याक्टर कार्वाहीबाट ११ लाख ५९ हजार ५ सय, १३ हजार ३२७ मोटरसाईकल कार्वाहीबाट ९७ लाख ६६ हजार ५ सय र ८ हजार ११४ टेम्पो (अन्य) कार्वाहीबाट ५८ लाख ७ हजार ५ सय रुपियाँ राजस्व संकलन भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुको तथ्याङक अनुसार आव ७९/८० मा सवारी कार्वाही संख्या बढेसंगै राजस्व पनि बृद्धि भएको हो । तथ्याङ्क अनुसार आव २०७६/७७ मा १५ हजार २९८ सवारी कार्वाहीबाट एक करोड ८ लाख ९१ हजार ५ सय, आव ०७७/७८ मा २९ हजार २५० सवारी कार्वाहीबाट २ करोड ४५ लाख ८८ हजार ५ सय र आव ०७८/७९ मा ३० हजार ३२७ सवारी कार्वाहीबाट २ करोड ३६ लाख ९० हजार ५ सय रुपियाँ राजस्व संकलन भएको थियो । चार आवको तथ्याङ्क अनुसार जिल्लामा सवारी कार्वाहीको संख्या बढ्नुका साथैं राजस्व एक करोड बढी उठेको देखिन्छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका अनुसार बिना अनुमति सवारी चलाउने, सवारी साधनको कागजात ठिक नभएका वा अवैध कागजात भएको, ओभरलोड बोक्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने लगायतलाई गरिएको कारबाहीबाट राजस्व असुल गरिएको हो । यस आवमा ट्राफिक प्रहरीको तथ्याङ्कअनुसार कारबाहीमा पर्ने सवारी साधनमा सबैभन्दा धेरै मोटरसाईकल रहेको छ । यस अवधिमा सबैभन्दा कम भने टेम्पो सवारी साधन कारबाहीको तथ्याङ छ ।